मलाई गाली गरेर सेयर बजार बढ्दैन: गभर्नर



मोरक्को (मराकेस) । सेयर बजारका लगानीकर्ताहरुले राष्ट्र बैंकको नीतिको व्यापक बिरोध गर्दै धारे हात लगाइरहेका बेला गभर्नर महाप्रसाद अधिकारीले भने आफूलाई गाली गरेर सेयर बजार नबढ्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को माराकेस पुगेका गभर्नर अधिकारीले क्लिकमान्डुसँगको विशेष कुराकानीमा सेयर बजारका लगानीकर्ताले आफैं बजार घटाएको बताए ।

‘सेयर बजारका लगानीकर्ता साथीहरुले मप्रति धेरै नै गुनासो गर्नुभएको छ । २०७६ चैतमा म गभर्नर बन्दा नेप्से परिसूचक १२०० अंकमा थियो,’ गभर्नर अधिकारीले भने, ‘२०७८ सालको मौद्रिक नीति ल्याएको ३ दिनपछि नेप्से परिसूचक अहिलेसम्मको उच्च बिन्दुमा पुगेको थियो । त्यसपछि सेयर बजारका लगानीकर्ताहरुले आफैंले बजार घटाउनु भयो ।’

सेयर बजारका विषयमा आफ्नौ कुनै विशेष धारणा नभएको र बजार बढ्न समग्र अर्थतन्त्रमा सुधार हुनु पर्ने उनको भनाइ छ।

‘सेयर बजारलाई समग्र अर्थतन्त्रको ऐना भनिरहेका छौं । अहिले बजार एक तहमा आएको छ । बजार बढ्नु पर्ने हो वा कहाँ जानु पर्ने हो मलाई थाहा छैन,’ अधिकारीले भने, ‘बजार बढ्नलाई समग्र अर्थतन्त्रमा सुधार हुनु पर्ने होला । त्यो सुधारका लागि हामी सबै मिलेर काम गर्यौं भने स्वभाविकरुपमा सेयर बजार माथि गइहाल्छ । मलाई गाली गरेर त्यतिकै बजार बढ्दैन।’

सेयर बजारमा सूचीकृत सबै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले राम्रो काम गर्न सक्यो र कम्पनीको नाफा बढाउन सक्यो भने सेयर बजार सोचेभन्दा बजार माथि जान सक्ने अधिकारीले बताए ।

प्रणालीमा भएको सीमित स्रोतलाई प्रभावकारीरुपमा उपयोग गर्न सेयर कर्जामा ४/१२ र १५/२० करोडको नीति लिइएको अधिकारीले दाबी गरे ।

‘एकै ठाउँमा धेरै रकम जानु हुँदैन भन्ने केन्द्रीय बैंकको सोच हो । उत्पादमुलक क्षेत्रमा लगानी जानु पर्छ,’ अधिकारले भने, ‘सकियो भने ऋण मुक्त दोस्रो बजार बनाउनु दीगो हुन्छ । बैंकिङ स्रोतप्रतिको निर्भरता हट्छ । म मात्रै होइन, धेरैको त्यस्तै सोच छ होला ।’

केही समयअघि समाजिक सञ्जालमा गभर्नर अधिकारीको मृत्यु भएको भन्दै झुटा खबर फैलाउने जस्ता घटनाले आफूलाई दुःखी बनाएको अधिकारीले बताए ।

‘व्यक्तिलाई भन्दा पनि म गभर्नर भएका कारणले सबै आरोप लगाएका होलान् । यस्ता आरोपले एकातर्फ गभर्नरका रुपमा सबै जिम्मेवारी पुरा गरिरहेको रहेछु भन्ने महशुस हुन्छ,’ अधिकारीले भने, ‘तर, अर्कोतर्फ कहिलेकाहीँ पारिवारिक समारोहमा जान समेत कठिन हुन्छ ।’

पछिल्लो समय शेयर बजारमा लगानी गर्नेहरुको सोच अर्कौ अवस्थामा पुगेको अधिकारीले बताए ।

‘मैले पनि सेयर बजारमा लगानी गरेकै हो । म पनि यहीँ समाजको मान्छे हो । गभर्नर छोडेको अर्को दिनदेखि म पनि आम नागरिक नै हुन्छु,’ अधिकारीले भने, ‘आफ्नै नजिकका मान्छेहरुले पनि गाली गर्नुहुन्छ । तैंले के गरेको यस्तो भनेर सोध्नुहुन्छ । तैले मात्रै धान्छस् भन्नुहुन्छ । यस्ता सबै कुरा हामीले सहनु पर्छ ।’

बजारमा विभिन्न आरोप लागेपछि आफूले गभर्नरको रुपमा गरेका सबै काम सम्झिएको अधिकारीले बताए ।

‘मैले कहाँ गल्ती गरे । किन यति आरोप लाग्यो भनेर आफैंले गरेका काम खोतल्ने काम गरेको छु,’ अधिकारीले भने, ‘मलाई कुनै गल्ती गरेको महसुस भएको छैन। वित्तीय क्षेत्रमा सुधार गर्ने प्रयासमात्रै गरेको पाएको छु । राष्ट्र बैंकका कयौं साथीहरु, बजारमा भएको कयौं राम्रा मानिसहरुको प्रयासले मात्रै सुधारका काम सम्भव भएका हुन् ।’

शेयर बजारका लगानीकर्ताहरुले व्यक्तिगत तहमा उत्रिएर गाली गलौज गर्न थालेपछि कयौं राम्रा व्यक्तिहरुले राष्ट्र बैंकले लिएको पछिल्लो नीतिको समर्थन गर्न नसकेको अधिकारीले बताए ।

‘समाजिक सञ्जालमा हेर्न नसकिने गरी गाली आउँदा राष्ट्र बैंकको नीति राम्रो छ भन्ने सोच राख्ने व्यक्तिहरु बोल्न सक्नु भएको छैन,’ अधिकारीले भने, ‘सायद म गभर्नर नभएर कुनै अर्को व्यक्तिले वित्तीय क्षेत्रमा सुधारका लागि अहिलेको प्रयास गरेको भए बाहिर निस्केर बोल्न सक्ने थिएन होला । गाली सुन्ने र सहने क्षमता कसैमा पनि हुँदैन नि ! ’

सार्वजनिकरुपमा केही व्यक्तिले मात्रै राष्ट्र बैंकको नीतिको समर्थन गरे पनि फोनमा र व्यक्तिगत रुपमा भेटर कयौं व्यक्तिले सकारात्मक सुझाव दिने गरेको अधिकारीले बताए ।


शरद ओझा