अर्थतन्त्रको समस्या समाधान गर्ने उद्देश्यले प्रधानमन्त्रीको उपस्थितिमा महासंघले बृहत् आर्थिक बहस गर्ने



काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बृहत् आर्थिक बहस गर्ने भएको छ ।

महासंघले बिहीबार बिहान ९ बजेदेखि राजधानीको र्‍याडिसन होटलमा बृहत् आर्थिक बहस आयोजना गर्न लागेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘अर्थतन्त्र गम्भीर समस्यामा छ, यो समस्याबाट उन्मुक्ति मिल्नेगरी हामीले बिहीबार प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय आर्थिक बहसको आयोजना गरेका छौं,’ अध्यक्ष ढकालले क्लिकमान्डुसँग भने, ‘सरकारका तर्फबाट अहिलेको समस्या समाधान गर्ने केही विशेष घोषणा हुने हाम्रो अपेक्षा छ ।’

महासंघले आयोजना गर्नेको उक्त आर्थिक बहसमा प्रधानमन्त्री, मुख्यसचिव, अर्थ मन्त्रालय र राष्ट्र बैंक, उद्योगमन्त्री, वाणिज्य तथा आपूर्तिमन्त्री, राष्ट्रिय योजना आयोग र अन्य सरोकारवाला सरकारी निकायका अधिकारीहरुको उपस्थिति हुनेछ ।

त्यसैगरी, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको पनि उपस्थिति रहनेछ । कार्यक्रममा अर्थशास्त्री प्रा. डा. अच्यूत वाग्लेले पेपर प्रेजेन्ट गर्नेछन् ।

‘अर्थतन्त्र गम्भीर संकटमा पुगेको छ, हामीले प्रधानमन्त्री तथा सरकारबाट अहिलेको समस्या सम्बोधन गर्ने विशेष घोषणा हुने अपेक्षासहित यो वृहत् आर्थिक बहसको आयोजना गरेका हौं,’ महासंघ अध्यक्ष ढकालले भने ।

सरकारी निकायहरुबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट थपिएको ढकालले बताए ।

‘सरकारी निकायहरुबीच तालमेल नमिल्दा निजी क्षेत्रले विश्वास गुमाएको छ, अब पनि निजी क्षेत्रको विश्वास फर्काउने काम भएन भने अर्थतन्त्र उठ्नै नसक्नेगरी संकटमा जाने निश्चित छ,’ ढकालले भने, ‘समयमै सरकारबाट उचित सम्बोधन भयो भने दशैपछि अर्थतन्त्रमा आशाको सञ्चार जाग्छ । र, सुधार हुन्छ ।’

स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको मनोवल अत्यन्तै कमजोर भइरहेको अवस्थामा यो बहशले आशा र विश्वासको वातावरण भएको सन्देश दिने आफ्नो विश्वासा रहेको ढकालले बताए ।

महासंघका महानिर्देशक गोकर्ण अवस्थीले निजी क्षेत्रले अर्थतन्त्रको समस्या समाधान होस् र सरकारले विशेष घोषणा गरोस् भन्ने उदेश्यले आर्थिक बहशको कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

‘यो अवधिमा धेरै कार्यक्रमहरु भए तर यो आर्थिक बहशले समस्या समाधानको ठोस निष्कर्ष निकाल्छ भन्ने हाम्रो विश्वास छ,’ अवस्थीले क्लिकमान्डुसँग भने, ‘अर्थतन्त्रमा सुधार देखियो भने हरेक नेपालीको मुहारमा खुसी छाउने छ ।’

पछिल्ला दुई वर्षमा अर्थतन्त्रमा चरम निराशा छाएको छ । तर, सरकारले यसको महशुस गरी आवश्यक कदम चालेको छैन । चरम निराशाका कारण युवाहरु धमाधम विदेश पलायन भइरहेका छन् । समयमै युवा पलायन रोक्न सकिएन भने आगामी दिनहरु थप सकपूर्ण हुने निश्चित छ । यस्तो अवस्थामा महासंघले गर्न लागेको आर्थिक बहसले नीतिगत प्रस्थान गर्नसक्ने अपेक्षा गर्न सकिन्छ । त्यसका लागि राजनीतिक नेतृत्व भने संवेदनशील हुन जरुरी छ ।


क्लिकमान्डु