नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि सुरु हुने, स्टल बुकिङ खुला



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाल यो वर्ष मंसिर १४ देखि १८ सम्म काठमाडौंमा हुने भएको छ । महासंघ सचिवालयमा सोमबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराइएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट पनि सहभागिता हुने भएको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको कमोडिटी पेभेलियन रहनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्धन केन्द्रको प्रवर्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो ।

मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इन्डोनेसिया, मलेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ ।

मेलामा भारत चेम्बर अफ कमर्स र नेपालको नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेदसम्बन्धी उत्पादनको प्रदर्शनी एवं प्रवचन कार्यक्रमसमेत हुनेछ ।

मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो हस्तकला उत्पादनहरु, एनटीआईएस प्रोडक्ट, कमोडिटी पेभिलियन रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्यसमेत राखिएको छ ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्धन तथा लगानीबारे छलफल हुनेछ । मेलाको स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ ।

मेलामा जेष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । त्यस्तै उपाध्यक्ष सुरकृष्ण वैद्यले एउटा छुट्टै ब्रान्ड बनाउन सफल मेला निजी क्षेत्रका लागि बलियो प्ल्याटफर्म भएको बताए । उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघको छुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने बताए ।


क्लिकमान्डु