वैदेशिक रोजगारीको प्रभाव: बचत खाता नहुने परिवार शून्यबराबर
काठमाडौं । वैदेशिक रोजगारीले लुम्बनी प्रदेशमा बचत खाता नखोल्नेको संख्या शून्य बराबर भएको छ । राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनअनुसार लुम्बनी प्रदेशमा वैदेशिक रोजगारीमा जानुअघि कुनै पनि खाता नरहेको परिवार संख्या वैदेशिक रोजगारीमा गएपछि शून्यमा झरेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ विषयक प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका ५ जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका ३८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो ।
वैदेशिक रोजगारीमा जानुपूर्व बैंकमा कुनै पनि खाता नरहेको परिवार संख्या ३७.०८ प्रतिशत रहेकोमा त्यसमा उल्लेख्य सुधार आई रोजगारीमा गएपश्चात् बैंक तथा वित्तीय संस्थामा कुनै पनि खाता नरहेको परिवारको संख्या घटेर ०.५२ प्रतिशतमा खुम्चिएको अध्ययनले देखाएको छ ।
त्यस्तै वैदेशिक रोजगारीमा गएपश्चात् संलग्न परिवारका सदस्यको बचत खाता तथा कर्जा खाता संख्यामा क्रमशः ३९.५८ प्रतिशत र १३०.६५ प्रतिशतले वृद्धि भएको छ ।