सेयर बजारमा गिरावट कायमै, १५८ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजारमा आएको गिरावट कायमै छ । बजार मापन गर्ने सूचक १२.५८ अंकले घटेर परिसूचक १९०८.६६ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट कारोबार सुरु भएको करिब डेढ घन्टापछि रोकिएर पुन सुधारतर्फ लागेको थियो । इन्ट्रा डे कारोबारमा डेढ घन्टा पनि देखिएको सुधार करिब १ घन्टा कायमै रहँदा १९२६.७३ बिन्दुमा पुगेको परिसूचक त्यसपछि निरन्तर घट्दा अन्तिम समयमा १९०८.६६ बिन्दुमा रोकिएको छ ।

२८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता सेयर १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ८.९९, विकास बैंक १८.९६, वित्त कम्पनी ८.८५, होटल ४९.७५, जलविद्युत ७.०३, जीवन बीमा १०२.५९, माइक्रोफाइनान्स २८.२३, निर्जीबन बीमा समूहको उपसूचक ८१.५१ अंकले घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३.४७ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा सयपत्री हाईड्रोपावर, थ्री स्टार हाईड्रोपावर, हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् भने बाराही हाईड्रोपावर, हिमालयन लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकको ३ करोड ५१ लाख ४५ हजार ३६९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिलायबल नेपाल लाइफ र हिमालयन लघुवित्त वित्तीय संस्था रहेका छन् ।


क्लिकमान्डु