मौरीपालनबाट वार्षिक १० लाख आम्दानी गर्ने बराल अरुका लागि प्रेरणा



गण्डकी । जीवनको साढे दुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बनेका । लामो समयको मौरीपालन अनुभवले खारिएका उनले मौरीपालनबाट राम्रो आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम दिन थालेका हुन् ।

साकुरा एपियारी फार्मका सञ्चालक बराललाई यतिबेला पोखरा आसपासका क्षेत्रमा मौरीपालन तालिम दिन भ्याइनभ्याइ छ । तालिमका लागि ठाउँठाउँबाट माग हुने गरेको बताउँदै उनले आफूले यसबीचमा धेरै ठाउँमा तालिम दिएको अनुभव सुनाए ।

जिल्ला मौरिपालक महासङ्घका अध्यक्षसमेत रहेका बरालको फर्ममा हाल एक सयभन्दा बढी मौरीका घार छन् । आफूले मौरीपालनबाट वार्षिक १० लाखसम्म आम्दानी गरेको उनको भनाइ छ ।

सुरुमा दुईवटा घारबाट मौरीपालन सुरु गरेका उनले यसबीच विभिन्न तालिम लिएको र घार पनि थप्दै गएको बताए । आफूले विगतमा लिएको तालिमबाट सिकेको ज्ञान, सीप तथा मौरीपालनको अनुभवका आधारमा यतिबेला आफू तालिम दिँदैआएको बताए । उनलाई कास्की, स्याङ्जा, तनहुँलगायतका स्थानबाट तालिमका लागि निम्तो आउने गरेको छ ।

बरालका अनुसार फार्ममा उत्पादित महप्रति केजी एक हजार आठ सयसम्म बिक्री हुन्छ । यहाँ उत्पादित महका लागि बजारको कुनै समस्या नभएको उनको भनाइ छ । तर बाहिरबाट आयात हुने कम गुणस्तरको महका कारण बजारलाई प्रभावित बनाउने गरेको उनको अनुभव छ ।

मौरीपालनमा मौसमी व्यवस्थापनको ठूलो महत्व हुने बताउँदै उनले वर्षा, जाडो र गर्मी मौसमअनुसार घारको व्यवस्थापनलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । मौरीको भित्री भागमा कीरा लाग्ने सम्भावना हुने बताउँदै बरालले बाहिरी रुपमा सत्रु कीराले पनि आक्रमण गर्ने भएकोले त्यसलाई ध्यान दिनुपर्ने बताए । मौरीलाई अरिङ्गाल, माउसुली, पहेँले, माकुरा, वन साङ्लोआदिबाट जोगाउन चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

मौरीको सङ्ख्या बढाउनका लागि किसान सचेत बन्नुपर्ने उल्लेख गर्दै उनले सुरुमा सात वटा फ्रेमभरी सकेपछि सुपर कक्ष राख्न सकिने र छाउरा कक्ष भरेपछि सुपरकक्षमा मह उत्पादन हुने बताए । भाले, कर्मी र रानी मौरी सबैका आ–आफ्ना भूमिका रहेको उनको भनाइ छ । मौरी विभिन्न बाली, फलफूलका लागि पनि उपयोगी हुने बताउँदै उनले मौरीले गर्ने परागशेचनले बाली उत्पादनमा समेत वृद्धि हुने जानकारी दिए ।

जङ्लमा फूल्ने फूलबाट औषधीय गुण भएका रस मौरीले सङ्कलन गर्ने र यसबाट उत्पादन पनि बढ्ने उनको भनाइ छ । उनले भने, ‘वन जङ्गलबाट आर्थिक लाभ लिनका लागि पनि मौरीपालन आवश्यक छ, मौरीबिना वन जङ्गलमा उत्पादित पुष्परस सङ्कलन गर्ने कुनै अर्को उपयुक्त विधि र प्रविधि देखिन्न ।’

बरालले एपि सेरेना जातको मौरीपालन गरिरहेका छन् । समुद्री सतहको आठ सयदेखि अधिकतम तीन हजार मिटरको उचाइमा पनि मौरीपालनको व्यावसायिक खेती गर्न सकिने उनको भनाइ छ । बढ्दो बेरोजगारीसँगै भइरहेको विदेश पलायनलाई रोक्नका लागि मौरीपालन उपयुक्त विकल्प हुनसक्ने बरालले बताए ।

‘मोरीपालन स्वरोजगार बन्नका लागि पनि उपयुक्त विकल्प हो, कम्तीमा ५० वटा मौरीका घारबाट व्यवसाय सञ्चालन गर्न सके मासिक ४० देखि ५० हजारसम्म आम्दानीका लागि भौतारिनुपर्दैन’, उनले भने ।

सहरीभन्दा पनि ग्रामीण क्षेत्र मौरीपालनका लागि उपयुक्त हुने बताउँदै उहाँले यसले गाउँबाट सहरतर्फ भइरहेको बसाइँसराइ रोक्न पनि योगदान गर्न सक्ने धारणा राखे ।

पोखरामा वार्षिक ९० टन मह उत्पादन हुने गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाको भनाइ छ । उनका अनुसार महानगरपालिकाभित्रका वडा नं १६, २०, २८ र ३० लाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा वडा नं १६ मा मौरीसहितका एक सय ९२ वटा घार वितरण गरेको छ भने वडा नं २० मा मौरीसहितका एक सय ८५ घार वितरण गरेको छ ।

महानगरपालिकाले वडा नं २८ मा मौरी सहितका दुई सय ५० घार र वडा नं ३० मा मौरीसहित एक सय ८३ घार वितरण गरेको उनले बताए । उनका अनुुसार व्यक्तिगत रुपमा एक दुुई घार राख्नेको सङ्ख्या पनि पोखरा महानगरभित्र ठूलो छ । मौरीपालन तोरी, फापरजस्ता कृषिजन्य उत्पादनका लागि पनि उपयोगी हुने बताउँदै उनले मौरीपालन गरेका स्थानमा १० देखि १५ प्रतिशत बढी उत्पादन पाइएको उनको भनाइ छ । रासस


क्लिकमान्डु