मैले भनेर नै गभर्नरले सेयर धितो कर्जाको सीमा बढाएर १५ र २० करोड पुर्याउनुभएको हो: हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफूले भनेको भएर नै नेपाल राष्ट्र बैंकका गभर्नरले व्यक्तिगत र संस्थागत सेयर धितो कर्जाको सीमा बढाएर १५ र २० करोड पुर्याएको बताएका छन् ।
‘त्यति मात्र होइन, राष्ट्र बैंकले प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा बैंकले लगानी गर्ने व्यवस्था गरेको पनि मैले नै भनेर हो,’ विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तर्क्रिया तथा समापन समारोहमा उनले भने, ‘राष्ट्र बैंकले गरेको यो व्यवस्थाले स्टार्ट अपलगायतलाई सहज हुन्छ र पुँजीबजारले पनि फड्को मार्छ ।’
अध्यक्ष हमालले ‘प्रिमियम’ भन्ने शब्द नै गलत भएको बताए । ‘विश्वमा यो व्यवस्था कहीँ छैन,’ उनले भने ।
बुक बिल्डिङ भने आफ्नो प्राथमिकतामा रहेको उनले सुनाए । नेप्सेलगायत सबै सरोकारवालासँग बसेर छलफल गरेको जानकारी गराउँदै उनले अहिले २ वटा कम्पनीको काम सुरु भएको बताए । बुक बिल्डिङमा क्रस होल्डिङको समस्या भने निकै चुनौतीपूर्ण रहेको उनले बताए ।
‘क्रस होल्डिङ भएका कम्पनीहरुका कारण बुक बिल्डिङ लागू गर्न समस्या भएको छ,’ हमालले भने, ‘तथापि बुक बिल्डिङको काम चाँडै सक्छौं ।’
कागजमा कुनै कम्पनी राम्रो भयो भनेर कम्पनी राम्रो नहुने उनले बताए । अध्यक्ष हमालले आफू बोर्डमा सौखले नभएर सरकारको चाहनामा आएको तर्क गरे । आफू बोर्डमा रहँदा पब्लिक कम्पनीको संख्या ४ सय पुर्याउने योजना रहेको उनले बताए ।
हमालले तिहारलगत्तै सर्टिफिकेसन कार्यक्रम लागू गर्ने बताए । ‘बिना सर्टिफिकेट कुनै पनि कार्यक्रम गर्न पाइने छैन,’ उनले भने, ‘ सेयर बजारबारे तालिम र प्रशिक्षण दिने व्यक्ति सर्टिफाई हुनुपर्नेछ ।’ जलविद्युत क्षेत्रमा देखिएको समस्या समाधान गर्न तीन वर्षको लक इन अवधिलाई उत्पादनमा नगएसम्म नखोल्ने नीति लिइएको उनले स्पष्ट पारे ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी निर्देशक कृष्णबहादुर कार्कीले नेप्से सरकारी निकाय हुँदा खरिद प्रक्रिया झन्झटिलो हुने गरेको बताए ।