करिब २८ अर्ब लगानीमा कोखाजोर जलविद्युत आयोजना बन्ने, निर्माण अवधि ७ वर्ष



काठमाडौं । सरकारले करिब २८ अर्ब लगानीमा कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । सरकारले काभ्रे, सिन्धुली र मकवानपुर जिल्ला सिमानामा २७ अर्ब ७४ करोड ९ लाख रुपैयाँ लगानीमा कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने भएको हो ।

सरकारले उक्त आयोजनाबाट ६३ मेगावाट विद्युत उत्पादन गर्ने योजनासहित वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) बनाइसकेको छ । आयोजना तीनवटा जिल्लाका विभिन्न गाउँपालिकामा निर्माण हुनेछ । प्रतिवेदनअनुसार हरिहरपुरगढी गाउँपालिकाको १,३,५ वडा र मरिण गाउँपालिकाको १ र २ वडामा समावेश छन् ।

त्यसैगरी, महाभारत गाउँपालिकाको १, ६, ८, खानीखोला गाउँपालिकाको ४ र ५ तथा बागमती गाउँपालिकाको १, ५ र ९ वडामा आयोजना निर्माण हुनेछ ।

सरकारले फ्रान्सिस प्रकारका २ वटा टर्बाइन बनाउने जनाएको छ । आयोजनाबाट २४५.०१ मिटर अधिकतम हेड, २०७.०१ मिटर न्यूनतम हेड, २३२.४७ मिटर नेट हेड र २५४.३७ मिटर ग्रस हेड ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार ६३ मेगावाट जडित क्षमताको विद्युत उत्पादन हुने आयोजनाबाट औसत वार्षिक २०५.९६ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ । सुक्खायामा ११४.६६ गिगावाट आवर र वर्षायाममा १९१.३० गिगावाट आवर विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

आयोजनामा दुई वटा जेनेरेटर र दुई वटा ट्रान्सफर्मर हुनेछ । आयोजना ७ वर्षमा सम्पन्न हुने गरी निर्माण गर्ने उल्लेख छ । प्रतिवेदनअनुसार ७९६.९१ हेक्टर स्थायी उद्देश्यका लागि र १४.८ हेक्टर अस्थायी सहायक सुविधाका लागि गरी ८११.७१ हेक्टर जग्गा आवश्यक पर्ने देखिएको छ ।


क्लिकमान्डु