अर्थतन्त्र सुधारका लागि कत्ति ढिलो नगर्न परिसंघ अध्यक्ष अग्रवालको अपिल



हेटौंडा । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गरेका छन् । केही समयअघि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकताभन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको जनाउँदै उनले तत्काल देखिने गरी सुधार थाल्न आग्रह गरे ।

बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको उद्घान समारोहमा अध्यक्ष अग्रवालले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्नेतर्फ ध्यान दिन सरकार एवं नियामक निकायको ध्यानाकर्षण गराए । गम्भीर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने उनले बताए  ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको क्षेत्राधिकारभित्र औद्योगिक क्षेत्र नपर्ने हुँदा निर्माण एवं सञ्चालनका लागि संघीय सरकारलाई सिफारिस गरेको जानकारी गराए । कात्तिममा बागमती प्रदेशमा लगानीको सम्भावनाबारे निजी क्षेत्रसहितका सरोकारवालासँग बृहत् छलफल गर्ने उनले बताए ।

कोटा प्रणालीका कारण डाक्टर र नर्सिङ अध्ययन गर्ने विद्यार्थी पलायनको खतरा बढेको भन्दै उनले बागमती प्रदेशभित्र डाक्टर, नर्सिङ अध्ययनका लागि सिटको सीमा हटाउने घोषणा गरे । कार्यविधि बनाएर शुल्कको सीमा तोक्ने पनि उनले जानकारी गराए ।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले अर्थतन्त्र सुधारका लागि देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

अधिवेशनले लेखराज पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय निर्विरोध कार्यसमिति गठन गरेको छ । यसैगरी बागमती प्रदेश उद्योग परिसंघले प्रदेश महिला उद्यमी मञ्च र प्रदेश युवा उद्यमी मञ्च पनि गठन गरेको छ ।


क्लिकमान्डु