सरकारको एक्लो प्रयासले मात्रै मुलुकको आर्थिक विकास सम्भव छैनः उद्योगमन्त्री



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव नभएको बताएका छन् । ‘सरकार र निजी क्षेत्रबीचको समन्वय र सहकार्यले मुलुकको आर्थिक विकास सम्भव छ,’ ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारण सभामा शुक्रबार उद्योगमन्त्री रिजालले भने ।

देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र फराकिलो पूर्वाधार तयार गर्नसक्ने उनले बताए । उद्योगमन्त्री रिजालले निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक माध्यम भएको तर्क गरे । ‘निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकमा आर्थिक विकास राम्रो भएको देखिएको छ,’ उनले भने, ‘नेपालमा पनि आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न आवश्यक छ ।’

निजी क्षेत्रको अधिकतम प्रयासले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास गर्नेमा वर्तमान सरकार विश्वास राख्ने उनको भनाइ छ । आयातलाई न्यून गर्दै लैजाने र निर्यातलाई प्रवर्धन गर्ने सरकारको नीतिलाई साकार बनाउन निजी क्षेत्रको सहयोगबिना सम्भव नहुने मन्त्री रिजालले बताए । कृषिलाई व्यवसायीकरण गरी उत्पादन वृद्धिमा जोड दिन निजी क्षेत्रलाई उनले आग्रह गरे ।

निजी क्षेत्रको माग सरकारले सम्बोधन गर्न नसकेको अवस्थामा आलोचनाभन्दा पनि सरकारसँग हातेमालो गरेर समस्याको समाधान खोज्न आवश्यक रहेको मन्त्री रिजालले बताए । सरकारले निजी क्षेत्रको मागअनुसार कानुनी र नीतिगत विषयमा सुधार गर्दै आइरहेको उनको दाबी छ ।


क्लिकमान्डु