बैंकहरुको धितो लिलामीमा समस्या, कर्जा उठाउन धौ-धौ



काठमाडौं । विश्व आर्थिक मन्दी र देशको अर्थतन्त्रमा आएको सिथिलताको मारमा कुनै न कुनै रुपमा बैंकहरु पनि परिरहेका छन् । बैंकहरु अहिले समयमा नै कर्जा नउठ्ने समस्यामा त छन् नै, त्यो भन्दा पनि ठूलो नउठेको कर्जाको धितो लिलाम गर्दा धितो नै लिलामी नहुने समस्या देखिएको छ ।

बैंकहरुले दिएको कर्जा निर्धारित समयमा उठेन भने बैंक कानुनअनुसार लिलाममा जाने गर्छन् । तर, पछिल्लो समयम धितो लिलाम गर्दा लिलामी हुन नसकेर बैंकहरु हैरानी खेपिरहेका छन् । धितो लिलाम हुन छोडेपछि बैंकहरुले पटक पटक सूचना निकालेर धितो लिलाम गर्न थालेका छन् । पछिल्लो समय धितो लिलामी गर्न भन्दै पटक पटक सूचना आउने क्रम बढेको छ ।

यसअघि ऋणीलाई कर्जा भुक्तानी गर्न आउने भन्दै ३५ दिने, १५ दिने, ७ दिने सूचना धमाधम निकालेका बैंकहरुले अहिले धितो लिलाम तथा पुन लिलामीका सूचना निकाल्न थालेका छन् । धितो लिलामीका सूचनाहरुका अनुसार बैंकको जिल्ला शाखाले दिएको कर्जाको धितो लिलामी नहुने समस्या देखिन थालेको छ ।

हिमालयन बैंकको वीरगञ्ज–२ शाखाबाट प्रतिक्षा इन्टरप्राइजेज, ओम सेल्स एण्ड सप्लायर्स, राजु हार्डवेयर र तिरुपती रेफ्रिजेशनले कर्जा लिएका थिए । यी चारै वटा प्रालिले लिएको कर्जा समयमा भुक्तानी नगरेपछि बैंकले लिलामीको सूचना निकाल्यो । कर्जा लिँदा राखेको धितो लिलामी नभएपछि धितो लिलामीको पुनः सूचना निकालेको छ । कर्जा लिँदा सबैले जग्गा धितो राखेका छन् ।

यस्तै हिमालयन बैंकको मलंगवा शाखाबाट माँ बैष्णवी ट्रेड लिंङले कर्जा लियो । जसको प्रोपाइटर रेखा राउत थिइन । जमानीमा पंकज कुमार कर्ण । उनीहरुले लिएको कर्जा भुक्तानी नगरेपछि बैंकले धितो पुन लिलामीको सूचना निकालेको छ । यस्तै रेखा राउतले पनि पंकज कुमार कर्णलाई जमानी राखेर लिएको कर्जा तिर्न नसकेपछि बैंकले धितो लिलामी गर्न लाग्यो । २ पटक सूचना निकाल्दा समेत धितो लिलामी हुन सकेको छैन ।

हिमालयन बैंककै निजगढ शाखाबाट न्यू निशान ट्रेडर्सले लिएको कर्जा उठाउन नसकेपछि धितो लिलाम गर्न खोज्दा धितो पनि लिलामी हुन सकेको छैन । अहिले बैंकले पुन धितो लिलामीका लागि सूचना निकालेको छ । हिमालयन मात्रै होइन अन्य बैंकहरुले पनि धितो लिलामी नभएर पुनः सुचना प्रकाशन गर्न थालेका छन् ।


क्लिकमान्डु