माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित



काठमाडौं । माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज पोखरामा सम्पन्न सभाले बैंकले सेयरधनीलाई लिने लाभांश पारित गरेको हो ।

बैंकले गत आवको नाफबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश सहित १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने-गाभिने सम्बन्धिकार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदानगर्ने निर्णय समेत गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्ष १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रति सेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ ।


क्लिकमान्डु