माछापुच्छ्रे बैंकका सीईओको तलबभत्ता डेढ करोड, कर तिरे ५५ लाख



काठमाडौं । माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालालाई एक वर्षमा १ करोड ५४ लाख ८१ हजार रुपैयाँ तलबभत्ता तथा अन्य सुविधा दिएको छ ।

सीईओलाई १ करोड ५४ लाख ८१ हजार रुपैयाँ खर्च गरेको बैंकले नायव कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकहरुलाई १९ करोड ७९ लाख रुपैयाँ तलबभत्ता वितरण गरेको छ ।

बैंकले गत आवमा सञ्चालक समितिलाई भत्ताबापत १९ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले प्रत्येक बैठकबापत अध्यक्षलाई १८ हजार र सञ्चालकलाई १५ हजार ५ सयका दरले भत्ता दिएको छ ।

यस्तै भत्ताबाहेक प्रतिमहिना पत्रपत्रिका, मोबाइल तथा इन्टरनेट खर्चबापत १५ हजार उपलब्ध गराएको छ । यस्तै ५० लाखबराबरको सामूहिक दुर्घटना बीमा गरेको जनाएको छ । बैंकको कामको सिलसिलामा भ्रमण गर्दा लाग्ने खर्च बैंकले नै गर्ने गरेको छ ।

बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो तथा सञ्चालक समितिका सदस्यमा रोशन केसी, मुकुन्द महत, जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम, हरिभक्त सिग्देल र बन्दना कार्की रहेका छन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७ नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

आयकर ऐनअनुसार चालू आवदेखि कर बढेको छ । जसअनुसार कोइरालाले सरकारलाई ५५ लाखभन्दा बढी कर बुझाउनुपर्छ ।


क्लिकमान्डु