नेपालमै उत्पादन सुरु गरेको रोयल इन्फिल्डले दुई महिनामा गर्‍‍यो १९ करोडको व्यापार



काठमाडौं । गत जेठदेखि नेपालमै एसेम्बल प्लान्ट स्थापना गरी सञ्चालनमा आएको रोयल इन्फिल्ड ब्रान्डको बाइक बेच्ने त्रिवेणी ग्रुपको टीजी अटो ग्रुपले दुई महिनामै करिब १९ करोडको व्यापार गरेको छ । कम्पनीले सञ्चालनमा आएको दुई महिनाको अवधिमै करिब १८ करोड ९० लाखको व्यापार गरेको हो ।

साढे २७ करोड रुपैयाँ लगानीमा निर्माण भएको एसेम्बल युनिटबाट सन् २०२३ को २ महिनाको अवधिमै १८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । तर, उत्पादनका लागि उच्च लागतका कारण कम्पनीले घाटा व्यहोरेको उल्लेख छ ।

सन् २०२३ को मेबाट व्यवसायिक कारोबार गरेको कम्पनीका अध्यक्ष सुवासचन्द्र संघाई हुन् ।

टीजी अटो ग्रुपले ७० करोड रुपैयाँ ऋण लिने भएको छ । कम्पनीले १६ करोड ४४ करोड रुपैयाँ दीर्घकालीन र ५३ करोड ५५ लाख रुपैयाँ अल्पकालीन गरी ७० करोड रुपैयाँ ऋण लिने भएको हो ।

रोयल इन्फिल्ड ब्रान्ड बाइकको आधिकारिक बिक्रेता र उत्पादक रहेको कम्पनीले बारा जिल्लाको एक लाख स्क्वायर मिटरफिटमा प्लान्ट स्थापना गरेको छ । उक्त प्लान्टबाट वार्षिक २० हजार युनिट बाइक उत्पादन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२४ मा भने व्यापारमा सुधार आउने अपेक्षा राखेको जनाएको छ । नेपालमा दुई पांग्रे सवारी साधनको माग उच्च भएका कारण बजारमा धेरै संख्यामा दुई पांग्रे सवारी साधन बिक्री गर्ने कम्पनीहरु छन् ।

नेपालमा यसअघि नै दुई पांग्रे सवारी साधनको दुईवटा कम्पनीले एसेम्बिलिङ गरी बजारमा बिक्री वितरण गरिरहेका छन् । आगामी दिनमा अन्य ठूला कम्पनीहरुले एसेम्बिलिङ युनिट स्थापना गर्ने तयारी गरिरहेका छन् ।

बजारमा अहिले २५० सीसीभन्दा कम सीसीका दुई पांग्रे सवारी साधनमा उच्च प्रतिस्पर्धा छ । तर, कम्पनीले विशेषगरी २५० सीसीभन्दा बढीको दुई पांग्रे सवारी साधन उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । उक्त प्रकारका सवारी साधन बिक्री गर्ने कम्पनीहरु नेपालमा निकै कम छन् ।

विश्वमा नै युनिक ब्रान्डको रुपमा परिचित रोयल इन्फिल्ड मोटरसाइकलको नेपालमा पनि उच्च माग छ । रोयल इन्फिल्ड ब्रान्डको ३५० सीसीप्लस सेग्मेन्टको मोटरसाइकलको बजारमा माग उच्च रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु