फर्निचर तथा फर्निसिङको बजार अपेक्षित हुन सकिरहेको छैनः अनिल महेश्वरी



प्रेस्टिज कार्पेट उद्योगका निर्देशक अनिल महेश्वरी विगत २६ वर्षदेखि नेपालमा व्यवसाय गरिरहेका छन् । ५ वर्ष पहिले स्थापना भएको जेमहोम टेक्सटाइल नामक उद्योगले सोफाका लागि कपडा उत्पादन गर्दै आएको छ । महेश्वरीले प्रेस्टिज कार्पेट उद्योग पनि स्थापना गरेका छन् भने भारतीय ब्राण्ड किङ कोयलको नेपालका लागि आधिकारिक बिक्रेतासमेत हुन् । आर्थिक क्रियाकलापमा आएको सुस्तताले उद्योग तथा व्यवसाय सञ्चालनमा समस्या भएको बताउने महेश्वरीसँग फर्नेक्स २०२३ का साथै समग्र बजारको अवस्थाका सम्बन्धमा गरिएको कुराकानी:

बजार असहज छ भन्दै गर्दा तपाईंले महसुस गरेको अनुभव कस्तो छ ?

व्यक्तिगत रुपमा भन्नु पर्दा विगतका दिनमा जति सहज अवस्था थियो, त्यो अहिले छँदै छैन । आर्थिक कृयाकलापमा आएको मन्दीले मेरो व्यवसाय तथा उद्योग मात्र नभई समग्र उद्योगहरु प्रभावित बनेको अवस्था छ । कतिपय उद्योग त बन्द हुने अवस्थामा छन् । त्यसमा पनि राज्यले वास्तविकता नबुझी छिनछिनमा गर्ने नीतिगत परिवर्तनले झनै समस्या थपिएको छ ।
यस्ता सास्याको कुरा गर्दै गर्दा हामी अझै पनि आशावादी छौं ।

मेरो हकमा नै भन्नुहुन्छ भने व्यापारबाट सुरु भएको यात्रा अहिले उद्योगसम्म पुगिसकेको छ । आउने दिनमा वाइनल पीभीसी फ्लोरिंगको पनि उत्पादन सुरु गर्दैछौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा धेरैसँग सहकार्य गरिरहेका छौं । भारतको ग्रीन प्यानलको ल्यामिनेट फ्लोरिंगको नेपालको वितरक, ट्राइडेन्ट टावल, जेम फ्लोरिंग लगायतका उत्पादनको बिक्री वितरण हामीले नै गरिरहेका छौं । अवस्था अलि सहज भएको खण्डमा उल्लेखित ब्राण्ड मध्ये केहीको उत्पादन प्लान्ट नै नेपालमा हाल्ने योजना बनाएका छौं । तर, अहिले कै अवस्थामा चैं यसै भन्न सकिन्न ।

फर्नेक्स २०२३ मा ठूलो लगानी गरेर सहभागिता जनाउनु भएको छ नि ?

मैले अघि पनि भने, निराशाका बीच आशा खोज्ने हो । अप्ठेरो बेला आयो भनेर सबै चुप लागेर बस्ने हो भने अहिले भएका सबै उद्योग बन्द हुन्छन् । असहज अवस्थामा भालिको सम्भाव्यतालाई हेरेर असोज १० देखि १४ गतेसम्म आयोजना हुन गइरहेको नवौं संस्करणको फर्निचर एक्स्पोमा हामीले सहभागिता जनाएका हौं ।

५ दिने एक्स्पोमार्फत नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यलाई हाम्रो संस्थाले लिएको सन्दर्भमा त्यो उद्देश्यलाई सघाउँदै आफ्ना उत्पादनको ब्राण्डिङ र प्रवर्धन गर्न हामी एक्स्पोमा जोडिएका हौं । आज नभए भोलिको बजार बलियो बनाउन एक्स्पोमा टाइटल स्पोन्सोरमा प्रेस्टिज कार्पेट र एशोसिएट पार्टनरमा पैष्टिज कार्पेट गरी २ वटा ब्राण्डलाई मैले एक्स्पोमा सहभागि गराएको छु ।

भारतदेखि नेपालसम्मका सम्बद्ध पक्षहरुसँगको लामो छलफलपछि मात्र हामीले एक्स्पोमा आफ्ना ब्राण्डलाई अघि बढाउने निर्णय गरेका हौं । यसमा दीर्घकालमा हामीले के पाउन सक्छौं भन्ने अपेक्षा सहित सहभागिता जनाएका हौं ।

एक्स्पोबाट कस्तो अपेक्षा राख्नु भएको छ ?

हाम्रो संघले वर्षेनी यो प्रदर्शनी गरिरहेको छ । उपभोक्ताको ज्ञान बढाउने र प्रर्दशनीमा आइसकेपछि केहि किन्ने सोंच आउँछ र यसले बजार फेरि पुनर्जीवित हुन्छ भन्ने एउटा पाटो हो । नेपालमा राम्रो गुणस्तर भएका उत्पादन तयार हुन्छन् र मेड इन नेपाल नै प्रयोग गर्नुपर्छ भनेर सन्देश प्रवाह गर्नका एक्स्पोले मद्धत गर्छ भन्ने लाग्छ, यसले हामीले नेपालमा उत्पादन गर्दै आएका फ्लोरिङका उत्पादनको बजारीकरणमा सहयोग पुग्छ भन्ने हो । प्रेस्टिज कार्पेटमा हामीले धेरै नयाँ उत्पादनहरु सार्वजनिक गरेका छौँ ।

जुन प्रर्दशनीमा राख्नु जरुरी छ । नेपालमा बनेका यस्ता उत्पादनका बारेमा सर्वसाधारणहरुले जान्नु आवश्यक छ ।
कस्टमाइजेसनलाई हामीले प्राथमिकता दिएका छौँं । यो पटक पे्रस्टिज कार्पेटले बजारमा कस्टमाइज गर्न मिल्ने कार्पेट लिएर आएको छ । ग्राहकहरुको रोजाइ अनुसार साइज, डिजाइन र रंगमा कार्पेट बनाउन सक्षम भएको अवस्थामा त्यो कुरा उपभोक्ताले थाहा पाउनु पर्छ भन्ने हो ।

किंग कोइलको कुरा गर्दा हामी चार वा पाँच वटा नयाँ मेटिरियल लञ्च गर्दैछौँ । एक्स्पोको अवसरमा नै ती उत्पादन लञ्च गर्दा एकै पटक उपभोक्तासम्म जानकारी पुग्छ भन्ने अपेक्षा छ ।

फर्निचर र फर्निसिङमा नेपाल कति आत्मनिर्भर छ ?

अहिले हामी समग्रमा फर्निसिङका उत्पादनमा आत्मनिर्भर छौँ । हाम्रो पहिलाको शतप्रतिशत आयातको रेसियो अहिले ९० प्रतिशतभन्दा धेरैले घटिसकेको छ । अहिले समग्रमा १० प्रतिशतहाराहारी आयात हुँदा ९० प्रतिशत हिस्सा नेपाली उत्पादनले धानेको अवस्था छ । प्लास्टिकका कुर्चि नेपालमै बन्छ , भारतबाट ५ प्रतिशत पनि आउँदैन । कार्पेट ९० प्रतिशत स्वदेशमा उत्पादन हुन्छ ।

सोफाका कपडाहरु ५० प्रतिशत लोकल र ५० प्रतिशत बाहिरबाट आउने गर्दछ । पीभीसी फ्लोरिंग ७० प्रतिशत लोकल बिक्री हुने गरेको छ । समग्रमा ९० प्रतिशत सामाग्री नेपालमा नै उत्पादन हुने गरेको छ । फर्निचरतर्फको कुरा गर्दा ६० प्रतिशत जति स्वदेशी उत्पादनले धानेको छ जस्तो लाग्छ ।

निर्यातको अवस्था कस्तो छ ?

आयात प्रतिस्थापनको अवस्थामा पुग्नु नै ठुलो कुरा हो जस्तो लाग्छ । अहिले निर्यात नगन्य मात्रा हुन्छ । विश्व बजारमा कस्ट म्याचिंग गर्न नसक्नु, मुलुक भूपरिवेष्ठत हुनु, विद्यमान कानुनी व्यवस्था समयसापेक्ष नहुनु जस्ता कारणले कच्चा पदार्थ र लजिस्टिक खर्च जति छ, अथवा त्यो ठाउँमा पुग्न जुन खर्च लाग्छ, त्यसे हामीलाई बाहिरको बजारमा प्रतिष्पर्धी हुनबाट बञ्चित गरिरहेको छ । लजिस्टिक खर्च मात्र व्यवस्थापन गर्न सक्यौं भने निर्यातको हिस्सा भिजिबल बनाउन सकिन्छ । तर, अहिले निर्यात नै नभएको चाँही होइन, तर त्यसको हिस्सा नगन्य छ ।

तपाईंले व्यवसाय सुरु गरे यताका २६ वर्षमा फर्निचर र फर्निसिङ उद्योग तथा व्यवसायमा देख्नुभएको परिवर्तन के हो?

धेरै परिवर्तन भएको छ । आजभन्दा २० वा २५ वर्ष अगाडि जुन कुराको फर्निसिङ फ्लोरिङ बिक्थ्यो, आज त्यो अवस्था अलग भइसकेको छ । पहिला दोकानदारको भरमा सामान किनिन्थ्यो तर अहिले आर्टिटेक्ट, इन्टेरियर डिजाइन सबै अनुमोदन भएपछि मात्र उपभोक्ताले सामान किन्छन् । यो ट्रान्सफर्मेशन ठूलो उपलब्धि हो भन्ने लाग्छ ।

अहिले उद्योगका हिसाबले पनि धेरै परिवर्तन भएको छ । पहिलो हुने आयात बिस्तारै हट्दै लोकल फ्लोरिंग र फर्निसिंगको ८५ प्रतिशत सामाग्री अहिले नेपालमा नै बन्न थालिसकेको छ । कार्पेट मात्र नभएर मोड्युलेट फर्निचर, हामीले बिक्री वितरण गरिरहेको डल्फिन कुर्चि, जस्तै भारतमा पनि एकाध हुने उत्पादन अहिले नेपालमा नै बनिरहेको छ । नेपालमा मेसिन नहुँदा सोफाका कपडा भने धेरै आयात हुने गरेको छ ।

काठ बाहिरबाट आयात गरिए पनि फर्निचर भने नेपालमा नै बन्ने गरेको छ । १० वर्षअघि चिनियाँ फर्निचरका बजार बढेको भएपनि राम्रो गुणस्तर नपाउँदा विस्थापित भयो । अहिले ग्राहकहरुको नेपाली फर्निचरमाथि नै आकर्षण बढिरहेको छ ।

पछिल्ला केही वर्षको आर्थिक कृयाकलापमा आएको सुस्तताले कस्तो असर पर्यो ? अहिले कसरी पुर्नस्थापित हुँदै हुनुहुन्छ ?

व्यापारीक संख्याको हिसाबले बजार बिस्तारको क्रम घटेको छैन । केही हदसम्म वृद्धि नै भएको छ । फ्लोरिंग र फर्निसिंगमा विगत ५ वा १० वर्षमा अपेक्षित वृद्धि भएको छ । जसले गर्दा निर्माण र उत्पादन पनि भइरहेको छ । तर, सबै उद्योगहरु यो मन्दीका कारण पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । उद्योग बन्द गर्ने कुरा भएन, जसले गर्दा बाध्यात्मक अवस्थामा तल्लो मूल्यमा उत्पादन बिक्री गर्न उद्योगीहरु बाध्य छन् । यो सबै अघि भनेको जस्तै भोलिका दिनमा अवस्था सुधार हुने अपेक्षामा अस्तित्व जोगाउने काम भएको हो ।

कोभिड पछि सरकारी योजना धेरै भएकोले बजार राम्ररी बढेको छ । तर पछिल्लो डेढ वर्षयता आर्थिक मन्दीका कारण सब परियोजनाहरु रोकिए । जसका कारण एक वर्षमा व्यापार २५ प्रतिशतले घटेको छ । घट्ने क्रम अझै एक वा डेढ वर्ष घट्दो अवस्थामा रहने देख्छु । सरकारकातर्फबाट आर्थिक अवस्था सुधारका लागि ठोस कदम नचाल्दासम्म उपभोक्ताको क्रयशक्ति बढ्दैन । जब उपभोक्तासम्म राज्य कोषबाट खर्च हुने पैसा पुग्छ अनि केही सहज हुन्छ भनेर पर्खिने मात्र अहिलेको विकल्प हो ।

पछिल्ला केही दिनमा उद्योगमा प्रयोग हुने ग्याँसका विषयामा गरिएको नयाँ व्यवस्थाले कस्तो असर परेको छ ?

यो विषय ज्यादै महत्वपुर्ण छ । म एउटा प्रश्न गर्न चाहन्छु, जसले यो व्यवस्था गर्यो वहाँहरुलाई कि, १४ किलोको ग्यास सिलिण्डरले उद्योग कसरी चल्छ ? यस अघि ३०० किलोभन्दा बढी आकारमा ग्यास रिफिल गरेर चलेका उद्योग अहिलेको नयाँ व्यवस्थाले बन्द हुने अवस्थामा पुगेका छन् । व्यवहारिक पक्षलाई राज्यले बिचार गर्नु पर्दैन ? घरमा खाना पकाउन र उद्योग चलाउने कुरा अलग कुरा हो, तर आयल निगमले गरेको त्रुटीपूर्ण व्यवस्थाले हामी धेरै प्रभावित भएका छौं ।

नेपालमा ६ दर्जन हाराहारी त्यस्ता उद्योग छन्, जसले एलपी ग्याँसको प्रयोग गर्छन् । कसैले प्राविधिक अनुमति नलिएर प्रयोग गरेको होला, तर त्यो कुनै हिसाबले हानिकारक छैन । ग्यास प्रयोग नगरेमा भुसाहा प्रयोग गर्नुपर्छ नभए डिजेल प्रयोग गर्नुपर्छ जसले वातावरणमा धेरै नै प्रभाव पर्दछ । अर्कातिर लागत पनि बढ्छ । ग्यास सबैभन्दा किफायती र वाताबरणमैत्री हो । अब उद्योगमा पहिलेदेखि जडान भएका ग्यास प्लान्ट हटाएर डिजेल प्लान्ट हाल्नु पर्ने हो ? यसो गर्दा ग्यास प्लान्टमा भएको लगानी कसले व्यहोरिदिने ? यो प्रश्न सम्बन्धित निकायमा पुगोस् भन्न चाहन्छु । किनभने १४ किलोको ग्यास सिलिण्डरले उद्योगमा प्रेसर पुग्दैन । त्यसमा एक वा दुई किलो त प्रयोग नै हँदैन । राज्य यसमा जवाफदेही हुनुपर्छ ।

अन्तिममा, फर्निचर एक्स्पोको बारेमा के भन्न चाहनुहुन्छ ?

विगतका वर्षहरुमा फर्निचर एक्स्पो धेरै राम्रो हुने गरेको छ । प्रत्येक वर्ष अपग्रेड पनि भइरहेको छ । यो एक्स्पोमा उपभोक्ताहरुको राम्रो उपस्थिती हुने आशा रहेको छ । नेपालमा मात्र नभएर भारतबाट पनि प्रर्दशनी हेर्नका लागि आउँदै हुनुहुन्छ ।

ग्राहकहरु पनि सबैजना आउन्ुस्, उत्पादनहरु हेरेर लैजानुस् । कुन सामान कुन बेला चाहिएको छ हेर्नुस् र विचार गरेर खरिद गर्नुस् । तपाईँहरुको बजेट अनुसारको सामान पाउनुहुनेछ । बजेट कम भएर सामान नपाउने हुँदैन । बजेटमा पनि राम्रो सामान पाउनुहुन्छ । सबैजना आउनुस्, यो प्रर्दशनीलाई सफल पारौँ, मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन हातेमालो गरौं ।


क्लिकमान्डु