२०२७ सम्ममा पेट्रोलियभन्दा विद्युतीय गाडी सस्तो हुने, २०३० सम्ममा दुई तिहाइ पुग्नेछ हिस्सा



एजेन्सी । विश्वभरमा फेरिदैँ गएको अटो क्षेत्रमा २०२७ सम्ममा विद्युतीय गाडी(ईभी) मूल्य पेट्रोल तथा डिजेल गाडीहरुभन्दा सस्तो हुने देखिएको छ ।

इकोनोमिक्स अफ इनर्जी इनोभेसन एण्ड सिस्टम ट्रान्जिसन (ईईआईएसटी)को रिपोर्टमा जनाइएअनुसार विश्वभरका ठूला अर्थतन्त्र भएकमा देशहरुमा २०२७ सम्ममा ईभीहरुको मूल्य पेट्रोलियम गाडीहरुको भन्दा सस्तो हुनेछ ।

बेलायतको युनिभर्सिटि अफ एक्सेटरअन्तर्गतको प्रमुख परियोजना रहेको ईईआईएसटीको उक्त रिपोर्टकाअनुसार युरोपमा सन् २०२४ सम्ममा पेट्रोलियम गाडीहरुभन्दा ईभीको मूल्य सस्तो हुनेछ । त्यस्तै, चीनमा सन् २०२५, अमेरिकामा २०२६ र भारतमा २०२७ सम्ममा पेट्रोलियम गाडीहरुभन्दा सस्तो मूल्यमा ईभी पाइनेछन् ।

विश्वका प्रमुख अर्थतन्त्र रहेका यी देशहरुमा पेट्रोलियम गाडीहरुकोभन्दा सस्तो मूल्यमा विद्युतीय गाडी पाउनुले अन्य देशमा पनि सस्तो मूल्यमा विद्युतीय गाडीहरु उपलब्ध हुने उक्त रिपोर्टले जनाएको छ ।

सन् २०३० सम्ममा ब्याट्रीको मूल्य निकै कम हुने र यसले विद्युतीय गाडीहरुको मूल्यलाई पनि कम गराउने उक्त रिपोर्टमा काम गरेका प्राध्यापक मेई मेई एइलीन लैमले बताएकी छिन् ।

त्यस्तै, २०३० सम्ममा विश्वभरमा गाडीहरुको दुई तिहाई हिस्सा विद्युतीय गाडीहरुको हुने पनि देखिएको छ । अमेरिकाको रकी माउन्टेन इन्स्टीच्युट (आरएमआई) र बेजोस अर्थ फन्डले २०३० सम्ममा अटोमोबाइल क्षेत्रमा दुई तिहाईभन्दा धेरै हिस्सा इभीको हुने बताएका छन् ।

पेट्रोल र डिजेल गाडीहरुको सर्वाधिक बिक्री सन् २०१७ मा भएको थियो । २०२० को दशकमा भने पेट्रोलियम गाडीहरुको बिक्रीभन्दा पनि बढी यीनिहरु कवाडीका रुपमा फ्याकिने यी दुई संस्थाले बताएका छन् ।

विश्वभरमा ईभीको बजार ६ गुणाले बढेर सन् २०३० सम्ममा ६२ देखि ८६ प्रतिशतसम्म पुग्ने ईईआईएसटिको रिपोर्टमा जनाइएको छ । २०२० कै दशकमा ब्याट्रीको मूल्य पनि प्रतिकिलोवाट १५१ अमेरिकी डलरबाट कम भएर ६० देखि ९० अमेरिकी डलरमा सीमित हुने रिपोर्टमा उल्लेख छ ।


क्लिकमान्डु