नेपाल-चीन बिजनेस समिट: लगानी अभिवृद्धि र निर्यात सहजीकरणका लागि चीनको निजी क्षेत्र तयार
काठमाडौं । नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल-चीन बिजनेस समिटमा दुवैतर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले उक्त धारणा राखेका हुन् ।
द्विपक्षीय व्यापार प्रवर्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेको स्पष्ट पार्दै चिनियाँ लगानीकर्तालाई लगानीका लागि आग्रह गरे ।
प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने पनि बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले निजी क्षेत्रको प्रवर्धनमा सरकार सधैं तत्पर रहेको स्पष्ट पारे । महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्धनमा देश-विदेशमा पहल गरिरहेको भन्दै उनले महासंघको सराहना पनि गरे ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्रीले बताए । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनको भनाइ छ ।
सिसिपिआइटीको मुख्यालय बेइजिङमा २०२३ सेप्टेम्बर २४ मा आयोजित समिटमा चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनले बताए । चीन नेपालमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने मुलुक हो ।
नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनले बताए । नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने उनको भनाइ छ ।
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जन गर्न, पर्यटन प्रवर्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्धनका लागि समिट महत्वपूर्ण रहने उनको विश्वास छ ।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको जानकारी गराए । पर्यटन पूर्वाधारहरु जस्तै केवलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।
विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको अध्यक्ष ढकालको भनाइ छ । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको जानकारी गराउँदै उनले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए ।
अध्यक्ष ढकालले दुइ देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताए । चिनियाँ बैंक शाखाको रुपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने उनको भनाइ छ ।
सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।
महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गरेक थिए । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए ।
समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीसहित करिब ५० जना उद्यमी व्यवसायीको समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता थियो । समिटपूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो ।
यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीहरुबीच द्विपक्षीय छलफल भएको थियो । जसमा दुइ संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो ।
छलफलमा अध्यक्ष ढकालसहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको पनि सहभागिता थियो । यसैगरी महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पनि बैठकमा सहभागिता जनाएका थिए । यसैगरी कार्यसमिति सदस्यहरु मनोज पौडेल, हरि कार्कि र शोभा ज्ञवालीको पनि कार्यक्रम एवं बैठकमा सहभागिता थियो ।
समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिङ कम्पनीसँग लगानी विस्तारको समझदारी गरेको छ । यसैगरी चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससँग पनि सम्झौता गरेको छ ।
महासंघले चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।