दुई महिनामै ४१ करोड ८४ लाखको सिमेन्ट तथा क्लिंकर निर्यात



काठमाडौं । गत वर्ष आर्थिक वर्षभरमा निर्यात भएको भन्दा आधा मूल्यबराबरको सिमेन्ट चालू आवको दुई महिनामै निर्यात भएको छ । गत वर्षभरमा ७८ करोड रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निकासी भएकोमा चालू आवको दुई महिनामै ४१ करोड ८४ लाख रुपैयाँबराबरको निकासी भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा गरी २५ करोड ३६ लाख ४३ हजार रुपैयाँको १ लाख ११ हजार टन क्लिंकर तथा १६ करोड ४८ लाख ४३ हजार रुपैयाँ २ लाख २७ हजार टन सिमेन्ट निर्यात भएको छ ।

साउनमा भन्दा भदौमा क्लिंकर निर्यात घटेको छ भने सिमेन्ट निर्यात बढेको छ । साउनमा १६ करोड ४४ लाखको क्लिंकर तथा ७ करोड ५ लाखको सिमेन्ट निर्यात भएको थियो । भदौमा ८ करोड ९१ लाख ७८ हजार रुपैयाँबराबरको क्लिंकर र ९ करोड ४३ लाख १९ हजार रुपैयाँबराबरको सिमेन्ट निर्यात भएको छ ।

गत वर्षभरमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात गरेका थिए । विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख ७ हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजारबरारबरको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको छ ।

हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् । अन्य उद्योग पनि निर्यातको तयारीमा छन् ।

अघिल्लो वर्षको असार २४ देखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्रान्डले भारततर्फ निर्यात सुरु गरेको थियो । त्यस्तै असोज ३१ देखि अर्घाखाँची र जेठ २९ देखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्रान्डमा पिपिसी सिमेन्ट निर्यात सुरु गरेका थिए ।

सरकारले सिमेन्ट र स्टिललगायतको निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन् ।

सिमेन्ट उत्पादक संघका अनुसार भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै उद्योग छन् । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने हुन्छ । नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक २ करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ ।


क्लिकमान्डु