क्लिकमान्डुको प्रधानसम्पादकमा चालिसे



काठमाडौं । चाणक्य मिडिया प्रालिद्वारा संचालित क्लिकमान्डु डटकमको प्रधानसम्पादकमा वरिष्ठ आर्थिक पत्रकार कुवेर चालिसे नियुक्त भएका छन् । आर्थिक पत्रकारितामा करिब ३ दशक बिताएका चालिसेले आइतबारदेखि प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका हुन् ।

नवनियुक्त प्रधानसम्पादक चालिसेलाई चाणक्य मिडियाका अध्यक्ष पुष्प दुलालले स्वागत गरे । दुलालले चालिसेको नेतृत्वमा क्लिकमान्डुले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे । ‘आर्थिक पत्रकारिता क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका कुबेर सरको आगमनले क्लिकमान्डुले नयाँ उचाइ ‍लिने विश्वास लिएको छु । आर्थिक पत्रकारितामा उहाँको अनुभवले संस्था थप सशक्त र प्रभावकारी हुनेछ,’ उनले भने ।

स्वागतपछि प्रधानसम्पादक चालिसेले आफूले पत्रकारितामा दोस्रो इनिङ सम्हाल्न डिजिटल मिडियामा प्रवेश गरेको बताए । ‘लामो समय प्रिन्ट मिडियामा काम गरेको अनुभवपछि डिजिटल मिडियामा दोस्रो इनिङ सम्हाल्न आइपुगेको छु ‘ चालिसेले भने, ‘आर्थिक पत्रकारिता क्षेत्रको स्थापित मिडियाको नेतृत्व गर्न पाउँदा उत्साही छु ।’

करिब तीन दशक पत्रकारिता गरेका चालिसेले यसअघि हिमालय टाइम्स, एचबिसी एफएम, दि हिमालयन टाइम्स, अन्नपूर्ण पोस्ट, नागरिक तथा रिपव्लिका दैनिकमा काम गरेका थिए । यसअघि उनी कारोबार दैनिकमा सम्पादक थिए ।

चालिसे नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वउपाध्यक्ष हुन् ।


क्लिकमान्डु