पोखरामा यतिको विमान दुर्घटनाः पाइलटलाई दोष देखाएर तयार भएको प्रतिवेदनमा के छ ?



काठमाडौं । आन्तरिक उडानमा हालसम्मकै ठूलो यति एयरको गत माघ १ मा पोखरामा भएको दुर्घटनाको कारण मानवीय त्रुटी नै भएको फेला परेको छ । यति एयरको ९एन एएनसी एटीआर जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने अन्तिम समयमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटना प्राविधिक कारण नभएर मानवीय त्रुटी भएको पाइएको पूर्व सचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको जाँचबुझ आयोगले बिहीबार सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा जहाज दुर्घटनाको कारण ‘प्रोपलर फेदर’ भएको भन्ने देखिएको छ । यसो हुनुको कारण प्राविधिक नभएर मानवीय भन्ने हो । यसको अर्थ पंखा एंगलमा नमिलेको जसका कारण ब्लेड स्थिर भएर बसेको भन्ने हो ।

‘प्रोपलर फेदरका कारण जहाजले अगाडिबाट पछाडि फाल्नुपर्ने हावा फ्याँकेन । यसलाई सामान्य अर्थमा भन्नुपर्दा जसरी सवारी साधन न्युट्रलमा आएपछि अगाडि बढ्न सक्दैन त्यस्तै हो भनेर बुझ्न सकिन्छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘यही प्रोपलर फेदरका कारण जहाज अगाडि बढ्नुपर्नेमा स्पिड घट्दै डाउन भएर खसेको हो ।’

जहाज दुर्घटनाबाट चालकदलका सदस्यसहित जहाजमा सवार सबै यात्रुले ज्यान गुमाएका थिए । जहाज दुर्घटनापछि बनेका हरेक जाँचबुझ आयोगको प्रतिवेदनमा सबैजसो कारणमा मानवीय त्रुटी भन्ने गरिएको छ भने यसपटक पनि पाइलटलाई नै दोष लगाएर प्रतिवेदन तयार भएको पाइएको छ ।

उक्त प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनको मापदण्डबमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक र निकायमा पठाउनुपर्ने हुन्छ । सो प्रतिवदेनमा आइकाओबाट प्रतिवेदनमाथि प्रतिक्रिया प्राप्‍त भएपछि मात्रै सार्वजनिक गरिने जानकारी पर्यटन मन्त्रालयले दिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना भएको थियो ।


राजु बास्कोटा