निगमले भन्योः १४.२ किलोभन्दा बढी तौलका सिलिन्डर उत्पादन गरे कारबाही गर्छौं



काठमाडौं । नेपाल आयल निगमले १४.२ किलो तौलभन्दा बढी तौलको सिलिन्डरको उत्पादन र बजारीकरण नगर्न सूचना जारी गरेको छ ।

निगमले सूचनाविपरीत बढी तौलको ग्यासहितको सिलिन्डर उत्पादन गरी बजारीकरण गरेको पाइए एलपी ग्यास विनियावलीअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

निगमले बिहीबार सूचना जारी गरी १४.२ किलोभन्दा बढी ५० किलो र ४५० किलो क्षमताको सिलिन्डरमा ग्यास भरेर बिक्री गरिरहेको भए तत्काल बन्द गर्न अनुरोध गरेको छ ।

साथै १४.२ किलोभन्दा बढी क्षमताको सिलिन्डरको प्रयोग गर्नु गैरकानुनी भएकाले त्यस्ता सिलिन्डर प्रयोग नगर्न पनि निगमले आग्रह गरेको छ ।

आयल निगमको सूचनालाई ग्यास विक्रता महासंघले स्वागत गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु दुलालले एलपी ग्यासजस्तो संवेदनशील विषयमा उद्योगले आफूखुसी गर्न नहुने उनले बताए ।


रवि धिताल