असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै उद्योग समिति



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्ने निर्णय गरेको हो ।

समिति बैठकमा सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ देखि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागिएको जानकारी दिए ।

बजार अनुगमनका लागि सरकारका सम्बन्धित निकाय, केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भएका काम-कारबाहीबारे स्थलगत निरीक्षण गरी जानकारी लिने पनि उनले बताए ।

सभापति खानका अनुसार उपसमितिहरुले प्रदेशका मुख्य व्यापारिक केन्द्रहरु धनगढी, नेपालगन्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर, वीरगन्जलगायतका सहरमा अनुगमन गर्ने उल्लेख गरे ।

काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा पनि समितिले अनुगमन गर्नेछ । चाडपर्व लक्षित मूल्यवृद्धि, कालाबजारी, मिसावट, कृत्रिम अभावलगायतका विषयमा अनुगमन गरी उपसमितिहरुले समितिलाई प्रतिवेदन बुझाउनेछन् ।


रवि धिताल