जगदम्बा स्पीनिङ मिलले ९ महिनामा गर्‍यो २ अर्ब ७८ करोडको व्यापार



काठमाडौं । पोलिस्टरसँग सम्बन्धित उत्पादन गर्ने कम्पनी जगदम्बा स्पीनिङ लिमिडेटको व्यापारमा ४८ प्रतिशतको वृद्धि भएको छ ।

व्यापारिक समूह सौरव ग्रुपअन्तर्गतको यो कम्पनीको सन् २०२१ को व्यापारको तुलनामा सन् २०२२ मा ४८.८४ प्रतिशतको वृद्धि भएको हो । त्यस्तै, कम्पनीको २०२३ को पहिलो ९ महिनाको व्यापारमा पनि २०२२ को वर्षभरिको व्यापारको तुलनामा १९.५४ प्रतिशतको वृद्धि देखिएको छ ।

जगदम्बा स्पीनिङ मिलको व्यापार सन् २०१९ पछि ओरालो लागेको थियो । सन् २०१९ मा २ अर्ब १७ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको २०२० को व्यापार झण्डै आधाले कम भएको थियो । २०२० मा कम्पनीले १ अर्ब २७ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । त्यसपछि भने पुनः कम्पनीको व्यापारले गति लिन थाल्यो ।

सन् २०२१ मा कम्पनीले १ अर्ब ५६ करोड ४० लाख रुपैयाँको व्यापार गर्यो । २०२२ मा कम्पनीको व्यापार २ अर्ब ३२ करोड ८० लाख रुपैयाँको भएको छ ।

२०२३ को सुरुवाती ९ महिनामा पनि कम्पनीले अघिल्लो वर्षको पूरै अवधिको तुलनामा धेरै व्यापार गरेको छ । सुरुवाती ९ महिनामा जगदम्बा स्पीनिङ मिलले २ अर्ब ७८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

यो कम्पनी २००५ मा खुलेको हो । सन् २०२१ मा प्रालिबाट लिमिडेट कम्पनीमा रुपान्तरण भएको जगदम्बा स्पीनिङ मिलको प्रमुख लगानी दुर्गाप्रसाद न्यौपानेको रहेको छ । कम्पनीमा उनको ४० प्रतिशत लगानी छ । त्यस्तै, कम्पनीमा विष्णुप्रसाद न्यौपानेको २२ प्रतिशत र बैभव न्यौपानेको १६ प्रतिशत लगानी छ । फाइबरमा आधारित उत्पादनहरु गर्ने यो कम्पनीको उत्पादन कारखाना तथा कार्यालय भने रुपन्देही जिल्लाको कमाहा रियामा रहेको छ ।

हाल कम्पनीले ३ अर्ब ८ करोड १० लाख रुपैयाँको कर्जा सुविधा लिनका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब १६ करोड ७० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ए डबल बि रेटिङ दिएको छ भने १ अर्ब ९१ करोड ४० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि जगदम्बा स्पीनिङ मिलले ए फोर रेटिङ पाएको छ ।


क्लिकमान्डु