क्यूआर क्रान्ति: १०४ प्रतिशतले बढ्यो भुक्तानी



फाइल तस्बिर

काठमाडौं । साउन महिनामा २९ अर्ब ९९ करोड ६० लाख रुपैयाँ क्यूआरमार्फत भुक्तानी भएको छ । यो भुक्तानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.४४ प्रतिशतले बढी हो । गत आवको पहिलो महिनामा १४ अर्ब ८१ करोड ७० लाख रुपैयाँको क्यूआरमार्फत भुक्तानी भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा १ करोड १२ लाख ५७ हजार ३८८ जनाले क्यूआरमार्फत २९ अर्ब ९९ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो संख्या गत आवको सोही अवधिमा ४६ लाख ७२ हजा ५६ जना रहेको थियो । एक वर्षको अवधिमा क्यूआर मार्फत गर्ने भुक्तानी शत प्रतिशतभन्दा बढी भए पनि असारको तुलनामा यो रकम घटेको छ । संख्या भने घटेको छैन ।

असारमा ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ क्यू आर मार्फत भुक्तानी भएको थियो । असारको तुलनामा साउनमा ०.५० प्रतिशतले घटेको छ । साउनको तुलनामा असारमा क्यूआर बाट गर्ने भुक्तानी रकम बढी भएपनि संख्या भने कम रहेको थियो । असारमा ९७ लाख ६६ हजार २१६ जनाले भुक्तानी गरेका थिए ।

यस्तै मोबाइल बैंकिङबाट हुने भुक्तानी २०७९ साउनको तुलनामा यो साउनमा ५९.२२ प्रतिशतले बढेर २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५२ अर्ब ५६ करोड १० लाख रुपैयाँ रहेको थियो । संख्या पनि २०७९ साउनमा २ करोड १८ हजार १५८ रहेको थियो । अहिले बढेर ३ करोड १२ लाख ८१ हजार ५४६ जना रहेका छन् ।

मोबाइल बैंकिङबाट हुने कारोबार असारमा २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ रहेको थियो । पछिल्लो समय विद्युतीय माध्यमबाट कारोबार हुन लागेपछि क्यूआर, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ ।

यसले चेक बोकेर हिडनु पर्ने, चेक साटन लाइन लाग्नुपर्ने जस्ता बाध्यता समेत हटदै गएको छ । अहिले क्यूआर मार्फत हरेक दिन तीन लाखसम्म भुक्तानी गर्न सकिने छ । मासिक रुपमा १५ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । यसले गर्दा पनि आम उपभोक्तामा क्यूआर मार्फत हुने भुक्तानीमा बढी चासो देखिने गरेको छ ।


क्लिकमान्डु