भदौमा ६ अर्बको विदेशी लगानी प्रतिबद्धता, रोयल्टी र लाभांशसहित १ अर्ब बढी रकम विदेश लैजान प्रस्ताव



काठमाडौं । विभिन्न लगानीकर्ताले भदौ महिनामा करिब ६ अर्ब रुपैयाँ विदशी लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार भदौमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) मा ५ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको हो ।

भदौमा ५१ वटा नयाँ उद्योगमा २ अर्ब ७२ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । भदौमा नयाँ उद्योगभन्दा पुरानो उद्योगमा बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ ।

भदौमा एसपीए र एसएसएमार्फत् ११ वटा उद्योगमा ३ अर्ब १६ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । त्यस्तै, चालु आर्थिक वर्षको भदौसम्ममा विभिन्न देशबाट १११ वटा नयाँ उद्योगमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । साथै, दुई महिनाको अवधिमा एसपीए/एसएसएममार्फत् १२ वटा उद्योगमा ३ अर्ब २० करोड २१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको विभागको तथ्यांक छ ।

भदौसम्म विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगहरुबाट ५ हजार ५०२ जनाले रोजगारी पाउने छन् । त्यसैगरी, हालसम्म ४ खर्ब ६४ अर्ब ६२ करोड ३१ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाइएको छ ।

१११ वटा नयाँ उद्योगमा लगानी प्रतिबद्धता आएको मध्ये २ वटा ठूला, ५ वटा मध्यम र १०४ वटा साना उद्योग रहेका छन् ।
यस अवधिमा पर्यटन क्षेत्रमा ५३ वटा, सेवा क्षेत्रमा ४४ वटा, उत्पादन क्षेत्रमा ९ वटा, सूचना तथा प्रविधि क्षेत्रमा २ वटा, पूर्वाधार क्षेत्रमा २ वटा र कृषि क्षेत्रमा १ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाइएको छ ।

रोयल्टी र लाभांशसहित १ अर्ब रुपैयाँ लैजान प्रस्ताव

चालु आवको भदौसम्ममा विदशी लगानीमा सञ्चालनमा रहेका उद्योगले कमाएको नाफावापत एक अर्ब बढी रकम विदेश लैजान प्रस्ताव गरेका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको भदौसम्ममा विभिन्न विदेशी लगानीकर्ताले १ अर्ब ९ करोड ४१ लाख रुपैयाँ रोयल्टी र लाभांश रकम लैजान प्रस्ताव गरेका छन् ।

उक्त अवधिमा ६० करोड ६१ लाख रुपैयाँ, ३ लाख ६ हजार अमेरिकी डलर (आजको विनिमय दरअनुसार ४ करोड रुपैयाँ), १२ करोड २९ लाख भारतीय रुपैयाँ (१९ करोड ६६ लाख नेपाली रुपैयाँ) रोयल्टी लैजान प्रस्ताव गरेका छन् । भदौसम्ममा उनीहरुले २५ करोड ७ लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेका छन् ।


क्लिकमान्डु