‘मुक्तिनाथ सेयरधनी बचत खाता’ मा थपिए सुविधा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लि र सेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ ।

यो सम्झौता बमोजिमको सुविधाहरु ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकले पाउने छन् ।

उक्त सम्झौता बामोजिम बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लि र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउन सक्ने बैंकले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात १०० रुपैयाँमा खोल्न सकिने, निःशुल्क रजिष्ट्रेशन, निःशुल्क मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटल लिबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशनमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउने बैंकले जनाएको छ ।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध भएको छ । सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको डेविड कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्लिकमान्डु