५३ करोडसम्म पर्ने यी हुन् विश्वका सबैभन्दा महँगा १५ विद्युतीय गाडी



एजेन्सी । पछिल्लो समय अटोमोबाइल क्षेत्रमा विद्युतीय गाडीहरुको माग र उपभोग पनि बढ्दै गएको छ । पेट्रोलियम इन्धनको प्रयोग हुने गाडीहरुको तुलनामा केही महँगो भए पनि विद्युतीय गाडीहरु निकै चर्चित भइरहेका छन् ।

इलेक्ट्रिक, हाइब्रिडलगायतका विभिन्न किसिमका विद्युतीय गाडीहरु अहिले बजारमा पेट्रोलियन इन्धनबाट चल्ने गाडीहरुलाई प्रतिस्पर्धा दिने किसिमले विकास भइरहेका छन् । दैनिक प्रविधिमा भइरहेको परिवर्तनका कारण पनि विद्युतीय गाडीहरुमा नयाँ नयाँ सुधिवाहरु थपिदैं जाँदा यीनिहरुको चर्चा र उपयोग पनि झन् झन् बढ्दै गएको छ ।

विद्युतीय गाडीहरु अहिले सस्तो मूल्यदेखि धेरै महँगो मूल्यमा बजारमा उपलब्ध छन् । निश्चित बजेट भएकाहरुदेखि लक्जरी गाडी खरिद गर्न चाहनेहरुका लागि पनि विद्युतीय गाडीहरुमा विकल्पहरु रहेका छन् ।

यहाँ त्यस्ता १५ विद्युतीय गाडीहरुको चर्चा गरिएको छ, जुन मूल्यको हिसाबले विश्वकै महँगा विद्युतीय गाडीहरुमध्येमा पर्छन् । सँगै यीनिहरुमा भएका सुविधाहरुले पनि यी गाडीहरु विशेष रहेका छन् । तर, पैसा भए पनि कतिपय यस्ता गाडीहरु नेपालमा उपलब्ध छैनन् । र यहाँ उल्लेख गरिएको मूल्य डलरको आजको सटही दर अनुसारको हो । यदी यस्ता गाडी नेपाल ल्याउनु परेमा यसमा २४० प्रतिशतसम्म कर लाग्छ ।

१५. मर्सिडिज बेन्ज ईक्युएस ५८० ४ मेटिक सेडान

क्रसओभर एसयुभी र लामो स्पोर्टी गाडीहरुको यो युगमा मर्सिडिज बेच्जले आफ्नो लाइनअपमा थुप्रै विद्युतीय सेडानहरुलाई राखेको छ । अहिले कम्पनीले पाइरहेको प्रतिक्रियाले उनीहरुको यो निर्णय सही भएको पनि साबित गरिरहेको छ ।

२०२३ को मर्सिडिज बेन्जको ईक्युएस ५८० ४ मेटिक सेडान निकै लक्जरी गाडी हो । उपभोक्ताको सुविधालाई ध्यानमा राखिएको यो गाडीको हालको मूल्य १ लाख २५ हजार ९५० अमेरिकी डलर (१ करोड ६७ लाख ३५ हजार नेपाली रुपैयाँ) रहेको छ ।

यो गाडीमा दुईवटा मोटर रहेका छन्, जसबाट अधिकतम ५१६ हर्सपावर सिर्जना हुन्छ । ६३१ पाउन्ड फिटको अधिकतम टर्क रहेको गाडीमा शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रतिघण्टाको स्पीडमा पुग्न केवल ४.१ सेकेन्ड लाग्छ । गाडीले एक पटकको पूर्ण चार्जमा ३४० माइल (५४७.१७ किमि)सम्मको दुरीमा कुद्न सक्ने कम्पनीले जनाएको छ ।

यो लक्जरी ईभीका अन्य सुविधाहरुमा हेर्ने हो भने यसमा २२–६३ क्युबिक फिटको सामान राख्ने ठाउँ रहेको छ । गाडीमा १२.३ इन्चको ओलेड डिस्प्ले रहेको छ ।

१४.अडी आरएस ई–ट्रन जिटी

गाडी निर्माता कम्पनी अडीले आरएस ई–ट्रन जिटीलाई पर्फमेन्सलाई ध्यानमा राख्दै डिजाइन गरेको छ । गाडीको एरोडाइनामिक्स डिजाइनले गाडीको पर्फमेन्सलाई एक कदम माथि लगेको छ ।

मेट्रिक्स डिजाइनको एलईडी हेडल्याम्प र अडी लेजर लाइट रहेको यो गाडीको हालको मूल्य १ लाख ४७ हजार १ सय अमेरिकी डलर (१ करोड ९५ लाख ४५ हजार नेपाली रुपैयाँ) रहेको छ ।

यो गाडीमा पनि डबल मोटर रहेको छ, जसले अधिकतम ६३७ हर्सपावरको क्षमतामा काम गर्न सक्छ । ३.१ सेकेन्डमा यो गाडी शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रति घण्टाको स्पिडमा पुग्न सक्छ । यसले उच्च स्पीड १५५ माइल (२४९.४४ किमि) प्रति घण्टाको दिन्छ भने पूरा चार्जमा यो गाडी पूरा चार्जमा २४९ माइल (४००.७२ किमि)को दूरीसम्म चलाउन सकिन्छ ।

१३. बिएमडब्ल्यु आई७ एम७०

निकै विशेष मानिने बिएमडब्ल्युको एम सिरिजका गाडीहरुमध्येमै पर्छ यो गाडी । युरोपेली कम्पनीको यो गाडीमा एम सिरिजकै स्पोर्टस् ब्रेक र २१ इन्चका एम एरी बिका चक्काहरु रहेका छन् ।

१ लाख ६८ हजार ५ सय अमेरिकी डलर (२ करोड २३ लाख ८९ हजार नेपाली रुपैयाँ) मूल्य रहेको गाडीमा ६५० हर्सपावर दिनसक्ने दुई मोटरहरु रहेका छन् । गाडीले शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रति घण्टाको स्पीड ३.५ सेकेन्डमा दिन सक्छ भने यसको उच्च स्पीड १३० माइल (२०९.२१ किमि) प्रतिघण्टाको रहेको छ । पूर्ण चार्जमा यो गाडी २७४ देखि २९१ माइल (४४०.९६ देखि ४६८.३१ किमि) सम्म कुद्न सक्छ ।

१२.पोर्स टाय्क्यान टर्बो एस क्रस टुरिस्मो

स्पोर्टस् गाडीहरुको निर्माणमा चर्चित रहेको पोर्सले आफ्नो विद्युतीय स्पोर्ट कारका रुपमा यो गाडीलाई राखेको छ । १० भर्जनमा कम्पनीले टाय्क्यानलाई विद्युतीय स्वरुपमा ल्याएको छ । टाय्क्यान मोडलमध्येमै टर्बो एस क्रस टुरिस्मो सबैभन्दा शीर्ष र महँगो भेरियन्ट हो ।

गाडीमा दुईवटा मोटर रहेका छन्, जसलाई ९३.४ किलोवाट घण्टाको ब्याट्रीले साथ दिएको छ । गाडीमा ६१६ हर्सपावरको डबल मोटर इञ्जिन रहेका छन्, जुन लञ्च कन्ट्रोल सुविधामा ७५० हर्सपावरसम्म पुग्न सक्छ ।

१ लाख ९७ हजार ५ सय अमेरिकी डलर (२ करोड ६२ लाख ४२ हजार नेपाली रुपैयाँ) बजार मूल्य रहेको यो गाडीले लञ्च कन्ट्रोल सुविधामा चलाउँदा शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रति घण्टाको स्पीडमा २.७ सेकेन्डमा पुग्न सक्छ । गाडीको उच्च स्पीड भने १५५ माइल (२५० किमि) प्रति घण्टा रहेको कम्पनीले जनाएको छ ।

११.पोलिस्टार सिक्स एलए (कन्सेप्ट एडिसन)

२ लाख अमेरिकी डलर (२ करोड ६५ लाख ७४ हजार नेपाली रुपैयाँ) मूल्य रहेको यो गाडी सन् २०२६ मा सार्वजनिक गर्ने लक्ष्यसहित स्वडिस कम्पनी पोलिस्टारले डिजाइन गरेको हो । हाल गाडीका लागि रिजर्भेसन गर्ने सुविधा दिइएको छ ।

विद्युतीय गाडीको क्षेत्रमा नयाँ डिजाइन र फरक दृष्टिकोणलाई आत्मसाथ गर्दै यो गाडीको डिजाइन गरिएको छ । कन्भर्ट गर्न मिल्ने यो गाडी फरारी वा लेम्बोरगिनीजस्ता गाडीहरुकै डिजाइनमा देखिन्छ । गाडीको वरिपरि रहेको एलईडी लाइडहरुले सडकमा यो गाडीलाई अरुभन्दा फरक देखाउने पक्का छ ।

डबल मोटर रहेको यो गाडीमा अधिकतम ८८४ हर्सपावरसम्मको क्षमता रहेको छ । शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रति घण्टाको स्पीडमा पुग्न ३.१ सेकेन्ड लाग्ने बताइएको यो गाडी उच्च गति भने १५५ माइल (२५० किमि) प्रतिघण्टाको रहेको छ । पूरा चार्जमा गाडीको रेञ्ज भने ३०० माइल (४८३ किमि) भन्दा कम रहने कम्पनीले जनाएको छ ।

१०. लुसिड एयर सफायर

झट्ट हेर्दा टेस्लाजस्तै देखिने लुसिडको एयर सफायर महँगामध्येको विद्युतीय गाडी हो । इन्टेरियरमा आधुनिक लुक्ससहितको यो गाडी २०२२ मा सार्वजनिक भएको थियो । हाल यसको मूल्य २ लाख ४९ हजार अमेरिकी डलर (३ करोड ३० लाख ८५ हजार नेपाली रुपैयाँ) रहेको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा राखेअनुसार यो गाडीको डेलिभरि सेप्टेम्बर २०२३ बाट सुरु हुने बताइएको छ भने हाल गाडी बुक गर्न पाइन्छ ।

यो गाडीमा तीन वटा मोटर रहेका छन्, जसको कुल क्षमता १२ सय हर्सपावरको रहेको छ । गाडीले शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रति घण्टाको गति समात्न केल १.८९ सेकन्ड लाग्ने कम्पनीले जनाएको छ । उच्च स्पीड २०५ माइल (३२० किमि) प्रतिघण्टाको दिने गाडीले पूरा चार्जमा भने ४२७ माइल (६८७ किमि)सम्मको रेञ्ज दिने कम्पनीले जनाएको छ ।

९.क्याडिल्याक सेलेस्टिक

निकै महँगो मूल्यमा रहेको क्याडिल्याकको सेलेस्टिक गाडी विश्वकै शीर्ष १० महँगा गाडीहरुमध्येमा पर्छ । कम्पनीकै पनि यो सबैभन्दा महँगो गाडी हो ।

डिसेम्बर २०२३ मा बजारमा सार्वजनिक गर्ने तयारी रहेको यो गाडीको मूल्य ३ लाख अमेरिकी डलर (३ करोड ९८ लाख ६२ हजार नेपाली रुपैयाँ) पर्ने बताइएको छ ।

गाडीमा डबल मोटर रहेको छ, जसले ६ सय हर्सपावर दिन्छ । शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रतिघण्टाको स्पीडमा पुग्न ३.८ सेकेन्ड लाग्ने यो गाडीले पूरा चार्जमा दिने अनुमानित रेञ्ज ३ सय माइल (४८२ किमि) रहेको छ ।

८. रोल्स रोयस स्पेक्टर

रोल्स रोयस भन्न साथै दिमागमा लक्जरी र क्लासको कुरा आउँछ । यो ब्राण्डका गाडी किन्न पैसा मात्रै भएर हुँदैन, आफ्नो व्यतित्व पनि निकै आवश्यक हुने बताइन्छ ।

पूरा एलुमुनियम च्यासिसमा बनेको रोल्स रोयसको विद्युतीय गाडी स्पेक्टर बजारमा उपलब्ध हुने महँगा गाडीहरुमध्येको हो । २०२३ को अन्त्यमा सार्वजनिक हुने बताइएको यो गाडीको मूल्य ४ लाख १३ हजार अमेकिरी डलर (५ करोड ४८ लाख ७७ हजार नेपाली रुपैयाँ) पर्छ ।

गाडीमा डबल मोटर रहेका छन्, जसको क्षमता ५७७ हर्सपावरको रहेको छ । शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रतिघण्टाको स्पीडमा पुग्न ४.४ सेकन्ड लाग्ने गाडीको उच्च स्पीड १५५ माइल (२५० किमि) प्रतिघण्टाको रहेको छ । पूरा चार्जमा यो गाडीले ३२० माइल (५१५ किमि)सम्मको रेञ्ज दिने कम्पनीले जनाएको छ । यो गाडी रोल्स रोयसको विगतको विरासत र विद्युतीय भविष्यको प्रतिकका रुपमा रहेको छ ।

७.ड्राको जिटिई

ड्राको कम्पनीले हालसम्म बनेकै जिटि मोडलका गाडीहरुमध्येकै सबैभन्दा शक्तिशाली र क्षमतावान गाडीका रुपमा जिटिईलाई प्रचार गरेको छ । अमेरिकी कम्पनीको निर्माण रहेको यो गाडीको मूल्य भने निकै धेरै छ । १३ लाख अमेरिकी डलर (१७ करोड २७ लाख ३६ हजार नेपाली रुपैयाँ) मूल्यमा यो गाडी खरिद गर्न सकिनेछ ।

यसमा चार वटा मोटर (क्वाड मोटर) रहेका छन् जसमा १ हजार २ सय हर्सपावरको क्षमता रहेको छ । गाडीको उच्च स्पीड २०६ माइल प्रतिघण्टा हुने बताइएको छ भने पूरा चार्जमा यसले ५ सय माइल सम्मको दूरीको रेञ्ज दिने कम्पनीले बताएको छ । गाडीको हरेक मोटर २२५ किलोवाट पावरका रहेका छन् ।

लक्जरी स्पोर्टस् सेडान रहेको यो गाडीलाई सन् २०१९ मा अमेरिकी कम्पनी ड्राको मोटर्सले सार्वजनिक गरेको थियो र सन् २०२० मा यसलाई लञ्च गरिएको थियो । विश्वभरमा हालसम्म यो गाडी २५ वटा मात्रै उत्पादन गरिएको छ ।

६.हिस्पानो सुइजा कारमेन बोलोन

स्पेनिस अटोमोबाइल कम्पनी हिस्पानो सुइजाले सन् २०१९ मा आफ्नो कारमेन सिरिजका गाडीहरुको सुरुवात गरेको थियो । उक्त सिरिजका १९ गाडीहरु बनेका छन् । यहि गाडीको अपडेटेड भर्जनका रुपमा सन् २०२१ मा हिस्पानो सुइजाको कारमेन बोलोन गाडी सार्वजनिक भएको थियो । हालसम्म विश्वभरमा यो भर्जनका ५ वटा गाडीहरु उत्पादन भएका छन् र पहिलो गाडी सन् २०२२ मा अमेरिकामा डेलिभर गरिएको थियो ।

कारमेन बोलोनको मूल्य भने २० लाख अमेरिकी डलर (२६ करोड ५७ लाख ४९ हजार नेपाली रुपैयाँ) रहेको छ । हिस्पानो सुइजाका १९३० का गाडीहरुको डिजाइनबाट प्रेरित भएको यो गाडीमा चारवटा मोटर रहेका छन्, जसको क्षमता १ हजार ११४ हर्सपावर रहेको छ । शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रति घण्टाको स्पीडमा पुग्न गाडीलाई २.६ सेकेन्डभन्दा कम समय लाग्ने कम्पनीले बताएको छ भने यसले पूरा चार्जमा २४८ माइल (४०० किमि)को रेञ्ज दिन्छ ।

५. ड्यस भ्यान

सन् २०२२ को न्युवर्क अटो शोमा यो गाडीलाई सार्वजनिक गरिएको थियो । प्राकृतिक छालाले बेरिएको यो गाडीको आकर्षक बाहिरी आवरण र भविष्यको जस्तो लाग्ने इन्टेरियरले धेरैको ध्यान तानेको थियो ।

यो गाडीमा अगाडीको भागमा ५५० किलोवाटको सिंगल मोटर र पछाडिको भागमा ५५० किलोवाटको विद्युतीय मोटर रहेको छ । तीनवटा मोटर रहेको गाडीमा २ हजार २४३ हर्सपावरको क्षमता रहेको छ ।

सन् २०२५ मा डेलिभरि सुरु गरिने र ९९ वटा मात्रै निर्माण हुने बताइएको यो गाडीको मूल्य २० लाख अमेरिकी डलर(२६ करोड ५७ लाख ४९ हजार नेपाली रुपैयाँ) रहेको छ ।

ड्यस भ्यानले शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रतिघण्टाको स्पीडमा पुग्न १.९९ सेकेन्डभन्दा कम समय लिने र उच्च स्पीड २५० माइल प्रतिघण्टाको रहेको कम्पनीको दाबी छ । यसले पूरा चार्जमा भने ३१० माइलको रेञ्ज दिनेछ ।

४. रिमस नभेरा

हालसम्म विश्व बजारमा घोषणा गरिएकामध्येको सबैभन्दा तीव्र गतिमा कुद्ने विद्युतीय गाडी हो रिमस नभेरा । यो गाडी विश्वभरमा केवल १५० वटा बनाइने उत्पादन रिमस अटोमेबिलिले जनाएको छ । सन् २०२२ को अगस्ट महिनाबाट यो गाडीको डेलिभरि सुरु भएको थियो ।

चारवटा मोटर र १ हजार ९१४ हर्सपावरको क्षमता रहेको यो गाडीले शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रतिघण्टाको स्पीड १.७४ सेकेन्डमा लिन सक्छ । गाडीको अधिकतम स्पीड २५८ माइल (४१५ किमि) प्रतिघण्टा रहेको छ । यसले पूरा चार्जमा दिने रेञ्ज भने ३०४ माइल (४८९ किमि) रहेको छ ।

अब सोच्नुहोस्, विश्वकै छिटो कुद्ने विद्युतीय गाडीको मूल्य कति पर्ला? यसको मूल्य भने २१ लाख अमेरिकी डलर (२७ करोड ९० लाख ३६ हजार नेपाली रुपैयाँ) रहेको छ ।

३. पिनिनफरिना बट्टिस्टा

तपाईंसँग करिब ३० करोड नेपाली रुपैयाँ छ भने पिनिनफरिना बट्टिस्टा गाडी लिन सक्नुहुन्छ । इटालियन गाडी निर्माता कम्पनी पिनिनफरिनाको मूल्य नै यति रहेको छ । २२ लाख ५० हजार अमेरिकी डलरको मूल्यमा यो गाडी किन्न सकिन्छ ।

विश्वयुद्धपछि निकै चर्चित बनेका गाडीहरुको डिजाइनर रहेका इटालियन गाडी डिजाइनर बट्टिस्टा ‘पिनिन’ फरिनाको कम्पनीले बनाएको यो गाडीमा चारवटा मोटर रहेका छन्, जसले १ हजार ९ सय हर्सपावरको क्षमता दिन्छन् ।

शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रतिघण्टाको स्पीडमा पुग्न १.७९ सेकेन्ड लिन्छ । यो गाडीको उच्च स्पीड २१७ माइल (३४९ किमि) प्रतिघण्टा रहेको छ भने पूरा चार्जमा यसले ३ सय माइल ( ४८३ किमि)को रेञ्ज दिन्छ ।

सन् २०१८ मा कन्सेप्टका रुपमा सार्वजनिक भएको यो गाडी सन् २०२२ अक्टोबरमा अमेरिकामा डेलिभर भएको थियो । यो गाडीमा फास्ट चार्जिङको सुविधा प्रयोग गर्दा शून्यबाट ८० प्रतिशतसम्म २५ मिनेटमा चार्ज गर्न सकिन्छ । विश्वभरमा १५० वटा मात्रै बट्टिस्टा रहेका छन् ।

२.लोटस इभिजा

गाडी निर्माता कम्पनी लोटसले आफ्नो विद्युतीय गाडी इभिजालाई विश्वकै सबैभन्दा शक्तिशाली विद्युतीय गाडी भएको दाबी गरेको छ । चारवटा मोटर रहेको गाडीको क्षमता १ हजार ९७१ हर्सपावरको रहेको छ ।

यो गाडीमा शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रतिघण्टाको स्पीडमा पुग्न तीन सेकेन्डभन्दा कम समय लाग्ने कम्पनीले बताएको छ । गाडीको उच्च स्पीड २१८ माइल (३५० किमि) प्रति घण्टाको रहेको छ भने यसले पूरा चार्जमा दिने रेञ्ज २५० माइल (४०२ किमि)को रहेको छ ।

१३० वटा मात्रै उत्पादन गरिएको र सम्पूर्ण बिक्री भइसकेको यो गाडीको मूल्य २३ लाख अमेरिकी डलर (३० करोड ५६ लाख ११ हजार नेपाली रुपैयाँ) रहेको छ ।

१. एस्पार्क आउल

जापानी कम्पनी एस्पार्क को उत्पादन रहेको आउल गाडी सन् २०१८ बाट उत्पादनको क्रममा रहेको गाडी हो । २०१७ मा फ्रान्सफर्ट अटो शोमा यो गाडीलाई कन्सेप्ट कारका रुपमा सार्वजनिक गरिएको थियो । सन् २०१९ को नोमेम्बरमा भएको दुबई अन्तर्राष्ट्रिय मोटर शोमा भने यो गाडीलाई प्रदर्शनीमा राखिएको थियो । २०२० बाट यो गाडीको उत्पादन सुरु गरिएको थियो ।

५० वटा मात्रै उत्पादन हुने यो गाडीमा चारवटा मोटरहरु रहेका छन्, जसको क्षमता १ हजार ९८० हर्सपावर रहेको छ । शून्यदेखि ६० माइल (९६.५६ किमि) प्रतिघण्टाको स्पीडमा पुग्न १.७२ सेकेन्ड लाग्ने यो गाडीको उच्च स्पीड २५६ माइल प्रतिघण्टा रहेको छ । पूरा चार्जमा यो गाडीले २४८.५ माइलको रेञ्ज दिने कम्पनीले बताएको छ ।

कार्बन मोनोकोक्यु संरचनामा बनेको यो गाडीको डिजाइन त फरक छ नै सँगै यसको तौल पनि जम्मा १ हजार ९ सय केजी रहेको छ । यसको मूल्य भने निकै धेरै छ । ४० लाख अमेरिकी डलर (५३ करोड १४ लाख ९८ हजार नेपाली रुपैयाँ) तिरेर यो गाडी किन्न सकिन्छ ।

टपस्पीड डटकमबाट


क्लिकमान्डु