भदौसम्म आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ७८ प्रतिशत कर, गत वर्षभन्दा करिब ३ अर्ब कम



काठमाडौं । साउनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको आन्तरिक राजस्व विभाग भदौमा पनि लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ ।विभागले भदौ मसान्तसम्ममा लक्ष्यको ७८.७५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।

भदौसम्ममा विभागले ८४ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६६ अर्ब १९ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।

भदौसम्ममा विभागले गत वर्षभन्दा २.५४ प्रतिशत कम राजस्व उठाएको हो ।

गत वर्ष भदौ मसान्तसम्म विभागले ७५ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६७ अर्ब ९१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म विभागले गत वर्षभन्दा १ अर्ब ७२ करोड रुपैयाँ कम राजस्व संकलन गर्न सकेको छ ।

भदौ महिनामा मात्रै विभागले ३५ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको २५ अर्ब ६९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जुन लक्ष्यको ७३.२९ प्रतिशत मात्रै हो ।

चालु आर्थिक वर्षको साउन महिनामा गत वर्षभन्दा करिब ६४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको विभागले भदौ भने गत वर्षभन्दा २ अर्ब ३६ करोड रुपैयाँ कम राजस्व उठाएको छ । गत वर्ष भदौमा २८ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

आयकर लक्ष्यअनुसार संकलन भए पनि मूल्य अभिवृद्धी कर लक्ष्यभन्दा कम उठ्दा समग्र राजस्व लक्ष्य प्रभावित भएको विभागका अधिकारीहरु बताउँछन् ।

साउनमा ४९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको विभागले ४० अर्ब ५० करोड रुपैयाँ मात्रै राजस्व उठाएको थियो ।
गत वर्ष साउनमा ३९ अर्ब ८६ रुपैयाँ राजस्व संकलन भएको थियो ।

बजारमा आर्थिक गतिविधी बढ्न नसक्दा लक्ष्य अनुसार राजस्व उठ्न नसकेको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।
‘आर्थिक गतिविधि नबढ्दासम्म मुल्य अभिवृद्धी करको असुली बढ्न सक्दैन्,’ विभागका एक अधिकारीले भने, ‘केही राजस्व चुहावटले पनि घटेको होला । धेरै राजस्व घटेको आर्थिक गतिविधि बढ्न नसकेर हो ।’


क्लिकमान्डु