सुरुङमा आधारित ईट्टा उद्योग बनाउँदै सरिया ग्रीन ब्रिक्स



फाइल

काठमाडौं । २०१९ मा स्थापना भएको सरिया ग्रीन ब्रिक्स इन्डस्ट्रीज प्रालिले सुरुङमा आधारित इट्टा उद्योग निर्माण गर्ने भएको ५ । त्यसका लागि कम्पनीले ६० करोड रुपैयाँ ऋण लिने भएको छ ।

हाल ८७ प्रतिशत काम भएको उक्त परियोजनाअन्तर्गत सुरुङमा आधारित इट्टा कारखाना निर्माण हुनेछ । कम्पनीले उक्त कार्य डिसेम्बर महिनासम्ममा पूरा गर्ने लक्ष्य लिएको छ ।

झापाको मेचिनगरमा स्थापना भइरहको कारखाना निर्माणका लागि ऋण र साझेदारीको ७०: ३० को अनुपातमा लगानी गरिएको कम्पनीले जनाएको छ । कारखाना स्थापना भएपछि वर्षेनी यहाँबाट १० करोड वटा इट्टाहरु उत्पादन हुने कम्पनीले जनाएको छ।

कम्पनीले यहि वर्षको नोभेम्बरबाट परीक्षणात्मक उत्पादन सुरु गर्ने जनाएको छ । आधुनिक प्रविधिसहित स्वचालित मेसिनरीको प्रयोग गरेर अत्याधुनिक उत्पादन प्रक्रियामार्फत इट्टा उत्पादन गर्ने गरि यो कारखानाको निर्माण भइरहेको कम्पनीले जनाएको छ।

यस कारखानाबाट वातावरणमैत्री किसिमले इट्टाको उत्पादन गरिने र गुणस्तरमा पनि स्तरीय उत्पादन रहने कम्पनीले जनाएको छ ।

सन् २०१९ मा सुरु भएको यो कम्पनी २४ जनाको लगानीमा रहेको कम्पनी हो, जसमध्ये धेरै सेयर भने सरिया ग्रुपसँग रहेको छ । सरिया ग्रुप नेपालमा ट्रेडिङको क्षेत्रमा पुरानो नाम हो । उत्पादनको क्षेत्रमा भने यो समूहले भर्खरै प्रवेश गरेको हो ।

कम्पनीले कारखाना निर्माणको लागि ६० करोड रुपैयाँ ऋणको रेटिंग गराएको छ । रेटिंग एजेन्सी इन्फोमेरिक्सले ४८ करोड ९७ लाख रुपैयाँको दीर्घकालिन बैंक कर्जा सुविधाका लागि डबल बि माइनस र ११ करोड ३ लाख रुपैयाँको अल्पकालिन बैंक कर्जा सुविधाका लागि ए फोर रेटिंग दिएको छ ।


क्लिकमान्डु