वैदेशिक रोजगारीका समस्या हल गर्न प्रधानमन्त्री सक्रिय, १३ देशका नेपाली राजदूतसँग छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तर्क्रिया गरेका छन् ।

सोमबार र मंगलबार गरी २ दिनका लागि आयोजना गरिएको अन्तर्क्रियामा १३ देशमा क्रियाशील कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित छन् । अन्तर्क्रियामा कूटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा अन्तर्क्रियात्मक रिपोर्ट राखेका थिए ।

अन्तर्क्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गरेका थिए ।

भण्डारीले प्रस्तुत गरेको अवधारणा पत्रमा श्रम बजार र आप्रवासनसम्बन्धी वर्तमान अवस्था, विप्रेषण र यसको सघन उपस्थिति, द्विपक्षीय श्रम सम्झौता र समझदारीलगायत विषय समेटिएका थिए ।

त्यस्तै वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति, राहत, उद्दार र कल्याणकारी कार्यहरूको सञ्चालन तथा कानुन प्रतिरक्षाको अवस्थाका विषयमा पनि उनले जानकारी गराए ।

श्रम सम्बन्ध, आश्रयस्थल, स्थानीय कर्मचारी व्यवस्था, संस्थागत व्यवस्था र श्रम सहचारीको अवस्था, दक्षिण कोरियाको इ–७ भिसा विशेष, जापानको निर्दिष्ट सीपयुक्त कामदारसम्बन्धी अवस्था, अभिलेख नभएका श्रम आप्रवासीहरूको अभिलेखन, घरेलु कामदारलगायतका विषय पनि उनको अवधारणा पत्रमा उल्लेख थिए ।

सरकार-सरकारबीच सम्झौताबाट श्रमिक आपूर्ति, सामाजिक सुरक्षा कोषमा आबद्धता, विशिष्टीकृत श्रम, सीप, तालिम र भाषा, परामर्शदाताको अधिकतम सेवा शुल्क, विप्रेषण आप्रवाह, शैक्षिक परामर्श र ट्राभल एजेन्सीबाट अनेक स्वरूपमा विदेसिने समस्याबारे, नयाँ श्रम गन्तव्य र श्रम बजारको सम्भावनाबारे, अपेक्षित उपलब्धि र परिणामलगायतका विषय पनि अवधारणा पत्रमा समेटिएका थिए ।

अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रूमानिया रहेको उल्लेख छ । साथै नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेका विभिन्न समस्या उल्लेख गर्दै त्यसको समाधानका विकल्प उनले प्रस्तुत गरेका छन् ।

अन्तर्क्रियामा मागपत्र प्रमाणीकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिसा फ्रि टिकटको अवस्था र समस्या, इ–भिसा, सिजनेबल भिसाका समस्या, नेपाली कूटनीतिक नियोगको प्रभावकारितालगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल हुने छ ।

अन्तरक्रियामा नेपाली राजदूतहरू भरत गौतम अष्ट्रिया, डोरनाथ अर्याल ओमान, रामकाजी खड्का जर्मनी, दुर्गाप्रसाद सुवेदी जापान, ज्योति प्याकुरेल दक्षिण कोरिया, डिल्लीराज पौडेल मलेसिया, नरेशविक्रम ढकाल कतार, तीर्थराज वाग्ले बहराइन, तापस अधिकारी पाकिस्तान, घनश्याम लम्साल कुवेत, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स, नवराज सुवेदी साउदी अरब सहभागी थिए । उनीहरुले विदेशमा रहेका नेपाली कामदारको अवस्था र त्यसमा सुधार ल्याउन चाल्नुपर्ने कदमबारे आफ्नो रिपोर्टसहितको धारणा राखेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल र सरकारका सचिवहरू उपस्थित थिए ।

सोमबार र मंगलबार गरी २ दिन सञ्चालन हुने अन्तर्क्रियामा मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।


क्लिकमान्डु