८ बैंकका कर्मचारीले गत वर्षभन्दा कम बोनस पाउने, कुनले कति घटाए ?



काठमाडौं । नेपालमा सरकारी जागिरपछि धेरैले रुचाउने, धेरैको प्राथमिकतामा पर्नेमध्येको एक हो बैंकको जागिर । मेहनत गर्न सक्ने, क्षमताहुनेहरुका लागि बैंकिङ करिअर राम्रो मानिन्छ । त्यसका विविध कारण छन् । त्यसमध्येमा पनि काम गर्ने कर्मचारीले पाउने विभिन्न सेवा सुविधाले भने बैंकिङ क्षेत्रमा आकर्षण रहेको छ ।

बैंकमा काम गर्ने कर्मचारीले पाउने विभिन्न प्रकारका सेवा, सुविधा, सस्तो ब्याजदरमा पाउने कर्जा तथा बैंकले दिने बोनस लगायत पर्छन् । जुन कर्मचारीको अपेक्षामा पनि रहेको हुन्छ । मेहनत गरेर काम गरेपछि बोनसको अपेक्षा गर्नु सामान्य विषय नै हो । बोसन बढ्दै जाने हो भने कर्मचारीमा उर्जा थपिन्छ तर, घटदै गयो भने के होला ? अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ८ वटा बैंकले कर्मचारीलाई दिने बोनस घटाएका छन् ।

कर्मचारीलाई दिने बोनस घटाउने बैंकमा एनएमबि बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

कर्मचारीलाई दिने बोनस घटाउने बैंकमध्ये मर्जरमा गएका बैंकमा हिमालयन र कुमारी रहेका छन् ।

एनएमबि बैंकले कर्मचारीलाई दिने बोनस ५.६३ प्रतिशतले घटेर ५४ करोड २० लाख रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५७ करोड ४३ लाख २० हजार छुट्याएको थियो । यस्तै हिमालयन बैंकले कर्मचारीलाई बोनसका लागि भन्दै ५१ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ५१.५२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ६ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको थियो । अहिले सिभिल र हिमालयन बैंक मर्जर भएका छन् । मर्जपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ ।

गत आवमा सिद्धार्थ बैंकले कर्मचारीका लागि बोनस दिन ५१ करोड ९० हजार छुट्याएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा ५२ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

यस्तै प्राइम बैंकले पनि कर्मचारीलाई दिने बोनस रकम ३६.३२ प्रतिशतले घटाएर ३७ करोड ५२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५८ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको थियो । यता सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि कर्मचारीलाई दिने बोनस ५.७० प्रतिशतले घटाएर ३६ करोड ९७ लाख १० हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

यस्तै एनसीसी बैंकसँग मर्ज भएको कुमारी बैंकले कर्मचारीलाई दिने बोनस २३.२८ प्रतिशतले घटाएर ३४ करोड १५ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा ४४ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

यस्तै सिटिजन्स बैंकले गत आवमा अघिल्लो आवको तुलनामा कर्मचारीलाई दिने बोनस ५.५५ प्रतिशतले घटाएर ३३ करोड ४८ लाख ८० हजारमा झारेको छ । अघिल्लो आवको सोही अवधिमा ३५ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

माछापुच्छ्रे बैंकले कर्मचारीलाई दिने बोनस अघिल्लो आवको तुलनामा गत आवमा १४.४६ प्रतिशतले घटाएको छ । अघिल्लो आवमा कर्मचारीका लागि बोनस भन्दै ३४ करोड ४६ लाख २० हजार छुट्याएकोमा गत आवको सोही अवधिमा २९ करोड ४७ लाख ८० हजार छुट्याएको छ ।

बैंकहरुले कर्मचारीलाई दिन छुट्याएको बोनस केही बैंकले दशैंको समयमा त केहीले कम्पनीको आगामी साधारण सभाको समयमा दिने गरेका छन् ।


क्लिकमान्डु