नेपाल रिपब्लिक मिडियाको नाफा १३ लाख २४ हजार, प्रतिसेयर आम्दानी १४ पैसा
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ लाख २४ हजार ३६१ रुपैयाँ खुदा नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको असार मसान्तमा कम्पनी ४ करोड ८२ लाख ८ हजार ६७३ रुपैयाँ घाटामा रहेको थियो । यो अवधिमा भने कम्पनीको नाफामा सुधार देखिएको छ ।
यो अवधिमा कम्पनीले गर्ने कारोबार बढ्दा नाफा पनि बढेको छ । अघिल्लो असार मसान्तमा २० करोड २६ लाख ५० हजार रुपैयाँको आय गरेको थियो । गत आवको सोही अवधिमा यो बढेर २६ करोड १ लाख २१ हजार पुगेको छ । यसले पनि नाफा बढाउन सहयोग पुगेको छ ।
कम्पनीको बिक्री लागत ८ करोड ५१ लाख ५४ हजार रुपैयाँबाट घटेर ८ करोड ३९ लाख २७ हजार रुपैयाँ रहेको छ । बिक्री वितरण खर्च २ करोड ८० लाख ६७ हजार रुपैयाँबाट घटेर २ करोड १७ लाख ९० हजार रहेको छ ।
कम्पनीको प्रशासनिक खर्च भने ६ करोड ३७ लाख ९४ हजार रुपैयाँबाट बढेर ७ करोड ८५ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १४ पैसा रहेको छ ।