गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउन राष्ट्र बैंकले ४ काम गर्नुपर्छ- धितोपत्र बोर्ड
काठमाडौं । गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा विषयमा सहजीकरण गर्नुपर्ने देखिएको छ । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समितिको अध्ययन प्रतिवेदनले राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने सुझाव दिएको हो ।
समितिले दिएको सुझावमा राष्ट्र बैंकले गर्नुपर्ने काममा गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानीका लागि सहजीकरण गरिदिन संरक्षक सदस्य बैंकको व्यवस्था गर्न सकिने गरी नीतिगतरुपमा नै व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
यस्तै गैरआवासीय नेपालीले धितोपत्रमा लगानी गर्ने प्रयोजनका लागि तोकिएको संरक्षक सदस्य बैंकमा गैरआवासीय नेपालीले अलग्गै बैंक खाता खोल्न सक्ने व्यवस्था गरिदिने उल्लेख छ ।
अध्ययन समितिले दिएको सुझावमा गैरआवासीय नेपालीले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुनेगरी छुट्टै निर्देशन/नियमन, कार्यविधि जारी गर्नुपर्ने उल्लेख छ ।
गैरआवासीय नेपालीले संरक्षक सदस्य बैंकमा विदेशी मुद्रा खाता खोल्ने र रेमिट्यान्समार्फत विदेशी मुद्रा जम्मा गर्न सक्ने, सदस्य बैंकहरुले गैरआवासीय नेपालीलाई उक्त विदेशी मुद्रा खातामा रहने कुल मौज्दातलाई सुरक्षणको रुपमा राखी सोको प्रचलित विनियमय दरले हुने रकमको बढीमा ९० प्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रदान गर्न सक्ने र गैरआवासीय नेपालीहरुले सो नेपाली मुद्रामा लिएको कर्जा रकमबाट धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्ने हुनुपर्ने सुझाव समेटिएको छ ।
यस्तै सदस्य बैंकबाट लिएको कर्जाको राफसाफ गरेपश्चात् रेमिट्यान्समार्फत ल्याएको जति रकम वा विदेशी मुद्रा खातामा जम्मा रहेको मौज्दात चाहेको बखतमा विप्रेषण गर्न सक्ने गरी आवश्यक व्यवस्था तोकिदिन सक्ने व्यवस्था पनि सुझावमा राखिएको छ ।
यसबाट गैरआवसीय नेपालीलाई नेपाली धितोपत्र बजारमा लगानीका लागि आकर्षित गर्न सकिने र जसका माध्यमबाट विदेशी मुद्रा नेपाल भित्र्याउन तथा धितोपत्र बजारमार्फत पुँजी निर्माण तथा परिचालन गर्न सहज भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक योगदान पुग्न सक्ने सुझावमा उल्लेख छ ।