सेयर बजारमा गिरावटको असर: अपी पावरको सेयर मूल्य ७३ प्रतिशतले घट्यो



काठमाडौं । सेयर बजारमा देखिएको गिरावटको असर कतिपय चलेका कम्पनीमा पनि देखिएको छ । करिब २ वर्षयता बजारले बियरिस ट्रेन्ड समातेको छ । त्यसको असर उच्च मूल्य भएका कम्पनीमा समेत परेको छ ।

२०७८ भदौ २ गते सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । भदौ २ गते इन्ट्रा डे कारोबारमा ३२१८.८६ बिन्दुसम्म पुगेको बजार ३१९८.६ बिन्दुमा रोकियो । त्यसयता बजारमा गिरावट आएको छ ।

कम्पनीहरुमा लगातार आएको गिरावटको असर बजारमा परेको हो । दुई वर्षको अवधिमा अपी पावर कम्पनीको सेयर मूल्य ७३.६५ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र बजार ३८.६८ प्रतिशते घटेको छ ।

२०७८ भदौ २ गते ३१९८.६ बिन्दुमा रहेको बजार भदौ १९ गतेसम्म ३८.६८ प्रतिशतले घटेर १९६१.३७ बिन्दुमा रोकिएको छ । समग्र बजार ३८.६८ प्रतिशतले घट्दा अपी पावर कम्पनीको सेयर मूल्य भने ७३.६५ प्रतिशतले घटेको छ ।

२०७८ भदौ २ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३० रुपैयाँ थियो । मंगलबार कम्पनीको सेयर मूल्य १६६.९० रुपैयाँमा झरेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले साउन ३१ देखि ४० प्रतिशत (१:०.४) अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । जसमा आवेदन दिने समय मंगलबारबाट सकिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ छ । हकप्रद सेयर जारी गरेपछि ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्ने छ ।

बियरिस सुरु भएयता कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ११.०५ तथा आव २०७८/७९ मा ७.८९ प्रतिशत लाभांश बाँडेको छ ।


रवि धिताल