तयारी पोसाक उद्योगी चौधरीको अनुभवः स्वदेशमै केही गर्न सकिन्छ



चितवन । हातमा सीप भएपछि स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भरतपुर–२७ वनकट्टाका दीपक चौधरी । उनले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आएका छन् ।

साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उनले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे ।

‘उद्योगमा सट, पाइन्ट, टिसर्ट, जिन्सको पाइन्ट बनाइने गरिएको छ । पहिला उद्योगमा ५-६ प्रकारका कपडा बनाउने गर्थें,’ उनले भने, ‘अहिले २५ देखि ३० प्रकारका कपडा बनाउने गरेको छु । उद्योगमा बनाएको कपडा हेटौँडा, धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, भैरहवालगायतका सहरमा बिक्री गर्ने गरिएको छ ।’

सानैदेखि कुनै पनि काममा आफैं नेतृत्वदायी भूमिका लिन रुचाउने उनले ३७ वर्षको उमेरमा उद्योग खोखेका हुन् । साथीभाइसँग मिलेर उद्योग सञ्चालन गरेका चौधरी उद्योगको निर्देशक हुन् ।

‘साथीभाइ सबै विदेश गए, मैले नेपालमा केही नयाँ गर्छु भन्ने सोच लिएर अगाडि बढेँ,’ उनले भने । आफ्नो मेहनत र परिश्रमले दिनप्रतिदिन सफलताको सिँढी चढेको उनको अनुभव छ ।

२०७२ कात्तिक २ गते स्थापना भएको उद्योगबाट सुरुवाती चरणमा सबै खर्च कटाएर एक लाख पचास हजार रुपैयाँ बचत हुन्थ्यो । अहिले सबै खर्च कटाएर तीन लाख रुपैयाँसम्म बचत हुने गरेको उनी बताउँछन् ।

कक्षा ८ मा पढ्दापढ्दै उनले घरको आम्दानीको स्रोत केही नभएपछि भारत गएर गार्मेन्टको काम गर्न थालेका थिए । भारतमा ६ वर्षसम्म काम गरेपछि काठमाडौँ आएर उनले चार वर्ष काम गरे । ‘१० वर्ष सिकेको सीप आफ्नै ठाउँमा आएर प्रयोग गर्दा सफलता मिल्दै गयो,’ उनी भन्छन्, ‘४० लाखबाट सुरु गरेको उद्योगमा अहिले डेढ करोड लगानी भइसकेको छ ।’

भारतमा काम गर्दादेखि नै उनले नेपालमा गएर केही काम गर्छु भन्ने सोच बनाएका थिए । अहिले उनको दिनचर्या उद्योग व्यवस्थापन र सञ्चालनमा बित्ने गरेको छ । उनले उद्योग खोल्दा धेरै चुनौतीको सामना भने गर्नुपर्‍यो ।

‘उद्योग सञ्चालन गरिराख्दा धेरै चुनौती आए । कहिलेकाहीँ त पेसा छाडौँ कि जस्तो पनि भयो तर निरन्तरको कामले सफलता मिल्दै गयो,’ उनले भने । चार वर्षसम्म स्वदेशी बजार बुझेर, कस्तो सामान मान्छेले खोजी गरिरहेका छन् र कस्तो सामान बनाउँदा उपयुक्त हुन्छ भन्ने योजनामा समय खर्च गरेको उनले बताए ।

यसरी लामो समयसम्म बजार बुझ्दा आफैंले उद्योग खोलेर चलाउन सक्छु भन्ने सोच आएपछि अगाडि बढेको उनले स्मरण गरे । ‘पुर्ख्यौली सम्पत्ति भए पनि आफैंले केही नयाँ गर्छु भन्ने सोचका साथ आफैँले ऋण लिएर उद्योग सुरुवात गरेँ,’ उनले भने, ‘ऋण तिर्नुपर्ने भएकाले पनि मेहनत गर्न सिकायो ।’

मानिसमा मेहनत र लगनशीलता भयो भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सुझाव उनले युवालाई दिएका छन् । ‘कोसिस गरे स्वदेशमा जे पनि गर्न सकिन्छ, विदेशिनु पर्दैन तर मान्छेमा मेहनत र लगनशीलता हुनुपर्छ,’ उनी भन्छन् ।


रवि धिताल