एसियाली विकास बैंकको सहायतामा बन्ने नागमती बाँधको लागत २४ करोड ११ लाख



काठमाडौं । एसियाली विकास बैंकको सहायतामा बन्ने नागमती बाँधको लागत २४ करोड ११ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा वर्गीकरण गरेको नागमती बाँघ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार उक्त बाँधको निर्माण लागत २४ करोड ११ लाख ७५ हजार रुपैयाँ रहेको हो ।

आयोजनाको निर्माण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विभागको नागमती बाँध आयोजना रहेको छ । यो आयोजना बागमती जलाधार सुधार आयोजनाको एउटा अंगको रुपमा सुक्खा मौसममा बागमती नदीको बहावमा वृद्धि गर्ने उद्देश्यका साथ सुरु गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो आयोजनाको बाँध नागमती नदी र बागमती नदीको संगमस्थलभन्दा ३ किमीमाथि मूलखर्क गाउँनजिक गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको सिमानामा निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ । बाँधको उचाइ ९४.५ मिटर, लम्बाइ ५५४ मिटर क्रेस्टमा ७ मिटर चौडाइको हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार बाँध निर्माणबाट ४५०.४२६ वर्ग मिटरमा फैलिएको पूर्ण आपूर्ति स्तरमा ९४.८४ लाख घनमिटर जल भण्डारण क्षमताको जलशाय निर्माण गरिनेछ । आयोजनाका लागि कुल ६५.३०४ हेक्टर जमिनको आवश्यकता पर्ने र त्यसमध्ये ६२.९७७ हेक्टर स्थायी रुपमा र बाँकी अस्थायी रुपमा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

९ वर्षको अवधिमा निर्माण हुने आयोजनामा करिब ३ सय कामदारहरु निर्माण अवधिमा दैनिक रुपमा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । बाँध निर्माण आयोजनाअन्तर्गत नै १.८६ मेगावाटको विद्युतीय ऊर्जा उत्पादन पनि गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ ।


रवि धिताल