साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्यः मन्त्री रिजाल



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका छन् ।

बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला- २०८० उद्घाटन कार्यक्रममा मन्त्री रिजालले मुलुकको समृद्धिका लागि महिला र पुरुष दुवै उद्यमीको खाँचो औंल्याए ।

उद्यमीहरुको योगदानबिना मुलुक समृद्ध हुन नसक्ने उनको भनाइ छ । ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी छ,’ उनले भने, ‘सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवर्धन गर्ने उद्देश्यले रोजगारी र सीपमूलक तालिम प्रदान गर्दै आएको छ ।’

सरकारले कृषि तथा वनपैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई सहयोग गरिरहेको उनले बताए । ‘लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउन विभिन्न व्यापार मेलामा उद्यमीलाई सहभागिता गराउने कार्य गरिँदै आएको छ,’ मन्त्री रिजालले भने ।

मन्त्री रिजालले साना तथा मझौला उद्यमीलाई प्रवर्धन गर्न नीतिगत सुधार, स्वदेशी वस्तुको प्रवर्धन, बजारीकरण र व्यावसायिक सहज वातावरण बनाउन सरकारले कार्ययोजना बनाइरहेको जानकारी दिए ।


रवि धिताल