सरकारले सय रोपनी जग्गा दिए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बालेनको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले क्रिकेट रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका छन् । श्रीलंकामा एसिया कपअन्तर्गत भएको नेपाल र भारतबीचको खेल हेरेपश्चात बालेनले यस्तो घोषणा गरेका हुन् ।

उनले नेपाल सरकारले महानगर वा महानगर आसपासका क्षेत्रमा १ सय रोपनी जग्गा उपलब्ध गराएमा काठमाडौं महानगरपालिकाबाट क्रिकेट रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका हुन् ।

सोमबार श्रीलंकामा एसिया कपअन्तर्गत नेपाल र भारतबीच खेल भएको थियो, जसमा नेपाल भारतसँग १० विकेटले पराजित भयो । तर, टस हारेर ब्याटिङ गरेको नेपालले भारतसामु ४८.२ ओभर खेल्दै २३० रनको उत्साहजनक योगफल तयार पारेको थियो ।

सोही खेल हेर्न पुग्दाका अनुभवसहित बालेनले सामाजिक सञ्जालमार्फत रंगशालाको विषयमा पनि घोषणा गरेका हुन् । उनले श्रीलंकामा ५० जनाजति भारतीय क्रिकेट समर्थक पुग्दा १५ सयदेखि २ हजार नेपाली क्रिकेटका प्रशंसक श्रीलंका पुगेको बताएका छन् । खेल हेर्न जाँदा झन्डै ४० करोड रुपैयाँ नेपालीले मात्रै खर्च गरेको पनि उनले अनुमान लगाए ।

श्रीलंकामा क्रिकेट खेल भएको रंगशाला पनि नेपालमा रहेको त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला जस्तै रहेको तर केही प्याराफिट र केही बढी सुविधा रहेको बालेनले बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८० देखि ९० करोडमा नै बन्छ सायद ।’

उनले राम्रो किसिमको रंगशाला र केही ठूला खेल हुने हो भने खेल विकास हुने बताएका छन् । उनले लेखेका छन्, ‘एकै खेलबाट करोडौं रकम आर्जन हुनसक्छ । त्यसबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ४ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौं ।’


रवि धिताल