१२ कम्पनीको २ अर्ब ६५ करोडको आईपीओ पाइपलाइनमा, कुनको कति ?
काठमाडौं । विभिन्न १२ वटा कम्पनीले २ अर्ब ६५ करोड १४ लाख ८४ हजार ४०० रुपैयाँको साधारण सेयर (आईपीओ) ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आवेदन दिएका यी कम्पनीको २ करोड ९६ लाख ८५ हजार ४८४ कित्ता सेयर पाइपलाइनमा छ ।
आईपीओ निष्कासनको तयारीमा रहेका १० वटा कम्पनीमा २ वटाले बुक बिल्डिङ विधि र बाँकी १० वटा कम्पनीले अंकित मूल्यमा सेयर निष्कासन गर्ने भएका छन् ।
बोर्डमा आवेदन दिएका १२ मध्ये रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्न लागेका हुन् । रिलायन्स प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्मको रेन्जमा ७ लाख ७० हजार ६४० कित्ता संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारीमा छ ।
यस्तै सर्वोत्तम सिमेन्ट प्रतिकित्ता ५०१ देखि ७५१ रुपैयाँसम्मको रेन्जमा २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारीमा छ । उत्पादन तथा प्रशोधन समूहमा पर्ने दुवै कम्पनीले ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्कासन गर्न लागेका छन् ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नेमा रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्ट मात्रै हुन् । दुवै कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत सेयर निष्कासन गर्नेछन् ।
त्यसपछि मात्रै सर्वसाधारणले पाउनेछन् । दुवै कम्पनीले सेयर निष्कासन गर्दा ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सेर्वसाधारणका लागि निष्कासन गर्नेछन् । दुवै कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
यस्तै सानिमा माई हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँको १४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
कान्तिपुर टेलिभिजन नेटवर्कले ७ करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
डिसहोम मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
आईएमई लिमिटेडले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा छ । बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
यस्तै एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँको ७ लाख ६ हजार ९०९ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
नेपाल वेयर हाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासनको तयारी गरेको छ । आईपीओ निष्कानका लागि बोर्डमा आवेदनदिएको कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
दरमखोला हाइड्रो इनर्जी कम्पनीले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएर पाइपलाइनमा रहेका कम्पनीहरुले सर्वसाधारणका लागि निष्कासन गरेको सेयरबाट वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत सेयर छुट्याउने गरिएको छ ।