भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता विशिष्ट किसिमले देखियो: अर्थमन्त्री



पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३औं वार्षिक साधारणसभामा मन्त्री महतले भने, ‘पोखरालाई ट्रान्जिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि पोखरा केन्द्रविन्दु हुनसक्छ ।’

अन्तर्राष्ट्रिय हवाई अड्डामा सरकारले धेरै ठूलो लगानी गरेको जानकारी दिँदै महतले पर्यटन प्रवर्धनका लागि लगानी गरेको हो तथा अहिले लगानी उठाउन नसकिएको बताए ।

‘पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने छ, हामी धेरैजसो माग र निर्णय भावनामा बगेर गर्छौं,’ उनले भने, ‘भावनामा बगेर गरेको लगानीबाट प्रतिफल कसरी लिन सकिन्छ भन्ने चुनौती सरकारसँग छ ।’

युद्ध, भूकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट गुज्रिएकाले राजस्वमा ठूलो प्रभाव परेको र अर्थतन्त्रमा शिथिलता देखिएको उनले बताए । ‘भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता विशिष्ट किसिमले देखियो,’ उनले भने ।

समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने मन्त्री डा. महतको भनाइ छ । ‘सबैले सकारात्मक सोच राख्ने हो भने अर्थतन्त्र पनि सकरात्मक बाटोतर्फ उन्मुख हुन्छ,’ उनले भने, ‘पोखरा पर्यटन व्यवसायको हब हो, यसलाई कसैले बिगार्न सक्दैन । यसको भविष्य दिगो छ । थोरै समस्या आयो भन्दै हामीले निराशाको कुरा गर्ने हो भने यसले राम्रो गर्दैन ।’

पुँजीगत खर्च प्रभावकारी ढंगबाट कार्यान्वयन गरिने उनले बताए । ‘त्यसका लागि ठेक्का समयमा लगाइनेछ, ठूल्ठूला आयोजनाबाहेक सरकारले तीन वर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउँछ,’ महतले भने ।


रवि धिताल