साउनमा १ अर्ब २८ करोडको बिमा पोलिसी सरेन्डर, कुन कम्पनीबाट कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँको ९ हजार ७९८ वटा पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार १४ वटा बिमा कम्पनीको उक्त रकमको बिमा पोलिसी सरेन्डर भएको हो ।

सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बिमित छन् । साउनमा नेपाल लाइफका बिमितले ३ हजार ३२४ वटा बिमालेखबापत ४७ करोड २३ लाख ७ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)का बिमितले धेरै बिमा पोलिसी सरेन्डर गरेको बिमा प्राधिकरणले जनाएको छ । एलआईसीबाट बिमितहरुले ३१ करोड २५ लाख ८२ हजार रुपैयाँको २ हजार २४ वटा बिमालेखहरु त्याग गरेका छन् ।

यस्तै, बिमितहरुले हिमालयन लाइफ इन्स्योरेन्सका बिमितले १२ करोड २२ लाख ६ हजार रुपैयाँको ९८८ वटा बिमालेख त्याग गरेका छन् । राष्ट्रिय बिमा संस्थानबाट १० करोड ३२ लाख ८९ हजार रुपैयाँको ८६२ वटा बिमालेखहरु सरेन्डर गरेका छन् ।

प्राधिकरणका अनुसार सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । साउनमा कम्पनीका १३ बिमितले ११ लाख ८७ हजार रुपैयाँको पोलिसी त्याग गरेका छन् ।

यस्तै, नेशनल लाइफबाट ४ करोड ५५ लाख १७ हजार रुपैयाँका २९१, मेट लाइफबाट ४ करोड ३९ लाख ९० हजार रुपैयाँका ४३९, एशियन लाइफको ५ करोड ८४ लाख ४४ हजार रुपैयाँका ७४४, आइएमई लाइफको ९९ लाख ९३ हजार रुपैयाँको १३३, साउनमा प्रभु महालक्ष्मीका बिमितहरुले ३५ लाख २३ हजार रुपैयाँको २५ वटा पोलिसीहरु त्याग गरेका छन् ।

यस्तै रिलायबल नेपालका १६२ बिमितले ९० लाख ८२ हजार रुपैयाँको बिमालेख सरेन्डर गरेका छन् भने सिटिजन लाइफका १७६ बिमितले १ करोड १४ लाख ९० हजार, सूर्यज्योति लाइफका ४०८ बिमितले ७ करोड ४६ लाख १२ हजार र सानिमा रिलायन्स लाइफका १८० बिमितले १ करोड १४ लाख ९० हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

जीवन बिमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोकिनु पोलिसी सरेन्डर हो । तोकिएको अवधिका लागि खरिद गरिएको पोलिसी परिपक्व हुन नपाई बिमितको संख्या बढ्दै गएको छ । यो संख्या साउनमा ९ हजार ७९८ रहेको छ । 

बिमालेख सरेन्डर हुनुको मुख्य कारण आर्थिक संटकलाई लिइएको छ । आर्थिक संकट पर्दा बिमितले आफूले खरिद गरेको पोलिसीलाई सरेन्डर गर्ने बिमकहरु बताउँछन् ।

हाल प्राधिकरणद्धारा जारी निर्देशिका अनुसार बिमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । उक्त व्यवस्था हुनुअघि बिमितले बिमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बिमालेख त्याग गर्न सक्थे ।

निर्देशिकामा बिमा पोलिसी समर्पण मूल्यसमेत निर्धारण गरिएको छ । बिमितलाई बिमा पोलिसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बिमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्ने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने व्यवस्था छ ।


रवि धिताल