सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास हरायोः कांग्रेस सांसद केसी



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन् ।

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरुलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरे ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारका फायल एकपछि अर्को खुले पनि बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराए । सांसद केसीले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगहरुको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको पटक-पटक दोहोर्‍याए ।


रवि धिताल