नौ निकायलाई मन्त्री ज्वालाको निर्देशन- तपाईंहरुको लापर्वाहीमा टुलुटुलु हेरेर बस्दिन



काठमाडौं । राज्यका निकायबीच गतिलो समन्वय नहुुँदा दुरवस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन् ।

सबै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले टाइम लाइन नै तोकेर काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन र्दिएको संघिय सडक सुपरिवेक्षण तथा अनुगमण कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए ।

‘‘सडक विभागले सडक कालोपत्रे गर्छ, केही दिनमै त्यही सडकमा नेपाल बिधुत प्राधिकरणले खन्छ । फेरी कालोपत्रे गरिन्छ, लगतै नेपाल टेलिकमले खन्छ, फेरी कालोपत्रे गरिन्छ, लगतै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्छ, यसरी सडकको बेहाल भयो’, मन्त्री ज्वालाले भने ‘सडकको यो हरिबेजोग हेरेर बस्न सकिदैन, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस् ।’

मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरिय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल बिद्युत प्राधिकरणका महानिर्देक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाई, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता रहेको थियो ।

मन्त्री ज्वालाको निर्देशनपछि तार र पाइपहरु अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाइएको छ । बैठकमा नेपाल बिधुत प्राधिकरणका महानिर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाए । काठमाडौं उपत्यकाभित्र नेपाल बिद्युत प्राधिकरणले ५० किलोमिटर सडकमा तार अन्डरग्राउण्डेट गरिरहेको छ ।

३२ वटा सडकको ५० किलोमिटरमा काम थालेपनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन । अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा हाल काम गरिरहेको छ । खानेपानी लिमिटेडले पनि पाइप विछ्याएपछि सडक सुधार गरेको छैन ।

नेपाल टेलिकमले पनि केही सडकहरुमा टेलिफोनको तार विछ्याउने काम गरिरहेको छ । सडकसँग सम्बन्धित ९ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको भन्दै मन्त्री ज्वालाले बैठकमा आक्रोस पोखे । ‘तपाईहरु काममा गम्भीर नहुँने नागरिकले दैनिक सास्ती पाइराख्ने अबस्थामा मन्त्री टुलुटुलु हेरेर बस्दैन’ मन्त्री ज्वालाले भने ‘अब म आफै सडकमा जान्छु र कामको निरक्षण गर्छु ।’


रवि धिताल