एक लाख हेक्टरमा चैते धान लगाउने सरकारको तयारी



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले कृषि नेपालका लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषिक्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताए ।

अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको आंकडा उनले प्रस्तुत गरे । ‘४८ प्रतिशत जमिन वर्षायाममा मात्रै सिँचाइ हुने र १८ प्रतिशत जमिन मात्रै सधैंभर सिँचाइ हुने अवस्था छ,’ उनले भने, ‘सिँचाइ समस्या समाधान गर्नु नै सरकारको पहिलो काम हो । यो वर्ष सरकारले चैते धान १ लाख हेक्टरमा लगाउने गरी काम सुरु गरेको उनले जानकारी गराए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानुनको रुपमा कृषि विधेयक हाउसमा पेस गर्ने तयारी भइरहेको बताए । उनले आगामी अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषिक्षेत्रमा बृहत कानुनी संरचनाको व्यवस्थापन हुने जनाए । नर्सरीले बिरुवा बेच्दा पनि स्रोत खुलाउनुपर्ने गरी नर्सरी निर्देशिका बनाइरहेको उनले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने धारणा राखे । जमिनको प्रयोग नगरी अन्य माध्यमबाट देश समृद्ध हुन गाह्रो रहेको उनको भनाइ छ ।


रवि धिताल