नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छः आरजु राणा



काठामाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् ।

समितिको बैठकमा आइतबार सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेकाले परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने बताएकी हुन् ।

बाँदर संरक्षण गरेर कुनै फाइदा नभएको उनको भनाइ छ । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै गर्नुपर्ने तर्क गरिन् ।

‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन,’ उनले भनिन्, ‘यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ ।’

बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने बताइन् ।


रवि धिताल