माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । माथिल्लो मैलुङ खोला हाईड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन सकिने छ । कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले स्थानीयलाई १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

जसमा ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ का बासिन्दालाई निष्कासन गरेको छ । २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका– २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका– ५ का स्थानीयका लागि निष्कासन गरेको थियो ।

यस्तै रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरेको छ । लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । स्थानीयले सानिमा बैंक र एनएमबि बैंकका स्थानीय शाखाका साथै सानिमा क्यापिटलबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु