सेजन अध्यक्षमा सुजन ओली निर्वाचित



काठमाडौं । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । राजधानीमा शनिबार सम्पन्न  २५औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको  हो ।

क्यापिटल नेपालका ओलीले निकटतम प्रतिद्वन्द्वी शिरोमणि ढुंगानालाई ३ मतले पछि पारे । ढुंगानाले ९६ मत ल्याउँदा ओलीले ९९ मत ल्याएका हुन् । अर्की उम्मेदवार सरस्वती ढकालले ५६ मत पाइन् ।

सेजनको उपाध्यक्षमा ग्यालेक्सी फोरकेका विनय बञ्जरा निर्वाचित भए । बञ्जराले १३५ मत ल्याउँदा अर्का उम्मेदवार भागवत भट्टराईले ११५ मत पाए ।

सेजनको महासचिवमा गोरखापत्र दैनिकका विश्वास रेग्मीको एकल उम्मेदवारी परेको थियो । उनलाई निर्वाचन समितिले शुक्रबार नै निर्वाचित घोषणा गरेको थियो ।

सचिवमा क्लिकमान्डुका शोभित थपलिया विजयी बनेका छन् । थपलियाले १०६ मत पाए । निकटतम प्रतिद्वन्द्वी मुना कुँवरले ७९ मत पाउँदा रञ्जु काफ्लेले ६४ मत ल्याइन् ।

कोषाध्यक्षमा अनलाइन खबरका अच्युत पुरी १६० मतसहित निर्वाचित भए । अर्की उम्मेदवार कमला अर्यालले ८५ मत पाइन् ।

सदस्यमा निर्वाचित उकालोकी केशु लामिछानेले १८८, राससका हेमन्त जोशीले १७९, अन्नपूर्ण पोस्टकी ममता थापाले १५६, बिजमान्डुका वसन्तराज उप्रेतीले १४५ र एनएन टिभीका छवि सापकोटाले १२८ मत ल्याएका छन् । कौशिला कुँवरले १११ र पवन तिमल्सिनाले ८६ मत पाए ।

आज दिउँसो भएको निर्वाचनमा २५२ मत खसेको थियो । सेजनमा २७१ जनाले सदस्यता नवीकरण गरेका थिए ।


रवि धिताल