‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स हुँदै, विशेष सत्रमा अर्थमन्त्री



काठमाडौं । बृहत् राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’को ‘डुओलग’ सत्रमा अर्थमन्त्री डा. प्रकाशशरण महत आउने भएका छन् । बैंकिङ समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा भदौ १८ गते सोमबार काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रममा बैंकिङ समाचारका प्रकाशक राजु ढुंगेल र अर्थमन्त्रीबीच विशेष प्रश्नोत्तर हुने भएको हो ।

विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुकता, जनमानसमा बीमाप्रतिको बुझाइ, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिति, चुनौतीलगायतका विषयमा बृहत परिसंवाद गरिनेछ ।

अर्थमन्त्रीसँग आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरु, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरुमा निर्भरता कहालीलाग्दो अवस्थाजस्ता विषयहरुमा गहन विमर्श हुने भएको छ ।

‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रमा छलफल हुनेछ । बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य, निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयाम, नेपालमा जीवन बीमा कम्पनीहरूको प्रभाव र नेपालमा बीमा कम्पनीहरुको सचेतना र डिजिटलाइजेसन कार्यक्रमका मुख्य विषयवस्तु रहनेछन् ।

कार्यक्रममा अर्थमन्त्री महत, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललगायतको सहभागिता रहनेछ ।


रवि धिताल