सेजन महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

सेजनको महासचिवका लागि रेग्मीको मात्र उम्मेदवारी परेको हो । निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार रेग्मीको मात्र मनोनयन दर्ता भएकाले उनलाई निर्वाचित घोषणा गरिएको मुख्य निर्वाचत अधिकृत धर्मेन्द्र झाले जानकारी दिए । रेग्मी गोरखापत्र दैनिकमा कार्यरत छन् ।

सेजनको आगामी कार्यकालका लागि भोलि (शनिबार) हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि कारोबार दैनिकमा कार्यरत सरस्वती ढकाल, क्यापिटल नेपालमा कार्यरत सुजन ओली र नेपाल लाइभ टुडेमा कार्यरत शिरोमणि ढुंगानाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै उपाध्यक्ष पदका लागि वर्तमान महासचिव भागवत भट्टराई र ग्यालेक्सी फोरके टेलिभिजनका बिजनेस ब्युरो प्रमुख विनय बञ्जराले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भट्टराई सेतोपाटी अनलाइनमा कार्यरत छन् ।

सचिवका लागि शोभित थपलिया, मुना कुँवर र रञ्जु काफ्लेले मनोनयन दर्ता गराए । थपलिया क्लिकमान्डु, कुँवर नयाँ पत्रिका र काफ्ले द राइजिङ नेपालमा कार्यरत छन् ।

कोषाध्यक्ष पदमा अनलाइनखबरमा कार्यरत अच्युत पुरी र नेपाल टेलिभिजनमा कार्यरत कमला अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ ।

सदस्य पदका लागि राससमा कार्यरत हेमन्त जोशी, बिजमान्डुमा कार्यरत वसन्तराज उप्रेती, उकालोमा कार्यरत केशु लामिछाने, अन्नपूर्ण पोस्टमा कार्यरत ममता थापा, कारोबारमा कार्यरत कौशिला कुँवर, नयाँ पत्रिका दैनिकमा कार्यरत पवन तिम्सिना र एनएन टिभीमा कार्यरत छवि सापकोटाले मनोनयन दर्ता गराएका छन् । उनीहरुमध्ये ५ जना निर्वाचित हुनेछन् ।

निर्वाचन समितिका अनुसार यस वर्षका लागि सेजनका कुल सदस्य (मतदाता) २७१ जना छन् । मतदान शनिबार मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । मतदान सकिएपछि भोलि नै मतगणना हुने निर्वाचन तालिकामा उल्लेख छ ।


रवि धिताल