नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो



एजेन्सी । नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्ता गरेको छ ।

युक्रेन युद्धका कारण गत वर्ष रुस र बेलारुसलाई बोलाइएको थिएन भने इरानको नाजुक मानवअधिकारको स्थितिलाई दृष्टिगत गरी तेहरानलाई पनि भोजमा आमन्त्रित गरिएको थिएन । बेलारुस रुसको प्रमुख सहयोगी हो भने उक्त देशका नेता अलेक्ज्यान्डर लुकासेन्कोले रुसको विशेष सैन्य कारबाहीलाई समर्थन गरेका छन् ।

तेहरानले लामो समयदेखि आफ्नो मानवअधिकारको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय जगतबाट आलोचनाको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसंघले त्यहाँको सरकारले गत वर्षको विरोध प्रदर्शनमा मानवताविरुद्धको अपराध गरेको आशंका गरेको छ ।

प्रत्येक वर्ष स्विडेनको राजधानी स्टकहोममा नोबेल पुरस्कारका ६ वटामध्ये पाँचवटा समारोह आयोजना हुने गरेका छन् भने नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ ।

फाउन्डेसनले नोबेल पुरस्कारको मूल्य–मान्यता नमान्नेहरूलाई पनि समावेश गर्न खोजेको जनाएको छ । अध्यागमनविरोधी स्विडेन डेमोक्र्याट पार्टीका नेता जिमी अक्सनलाई पनि यो वर्ष पहिलो पटक आमन्त्रित गरिएको तर उनले आफू त्यहाँ उपस्थित नहुने बताएका छन् ।

फाउन्डेसनका कार्यकारी निर्देशक विदार हेल्गेसनले विश्वमा विभाजन बढ्दै गएको तथा क्षेत्रहरूमा विभाजित भइरहेको छ, जहाँ फरक विचारधारा भएकाहरूबीच संवाद पनि कम हुँदै गएकाले सबैलाई समेट्ने प्रयास गरिएको बताएका छन् ।

‘यो प्रवृत्तिलाई रोक्न हामीले नोबेल पुरस्कारसँग स्वतन्त्र विज्ञान, स्वतन्त्र संस्कृति र स्वतन्त्र एवं शान्त समाजको महत्वलाई बुझाउन निमन्त्रणाको दायरालाई फराक पारेका छौँ,’ हेल्गेसनले भनेका छन् ।


रवि धिताल